मङ्सिर ११, दाङ | नेपाली कांग्रेस दाङको सभापतिका लागि चार जनाको उम्मेदवारी परेको छ । संस्थापन पक्षबाट जानकीलाल बस्नेत र भुपबहादुर डाँगी तथा संस्थापन इतरबाट कमल किशोर घिमिरे र शंकर डाँगीले सभापतिका लागी मनोनयन दर्ता गराएका हुन् ।
उपसभापतिमा सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिका लागि एकराज आचार्य, कमानसिंह भारती, गिरीराज सुवेदी, प्रदीपकुमार खड्का, बुद्धिप्रकाश चौधरी, मिनकेतन चौधरी र यज्ञबहादुर वलीले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ ।
सचिव पदमा चार जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार अर्जुनकुमार योगी, कृष्णप्रसाद सुवेदी, बालिका लम्साल र सूर्यप्रकाश रानाले उम्मेदवारी दिएका छन् । सहसचिवमा राजु आचार्य, लक्ष्मी योगी, हरिप्रसाद भुसाल र सुवोधकुमार डाँगीले उम्मेदवारी दिएका छन् ।
सात जना पदाधिकारी, १८ जना समावेशी, २७ जना एक पालिकाबाट दुई/दुई जना सदस्यले कार्य समितिमा प्रतिनिधित्व गरेका छन् । नयाँ नेतृत्वका लागि सर्वसम्मत हुन नसकेपछि चुनावी प्रकृयाबाट नेतृत्व चयन हुन लागेको छ ।
घोराहीको भरतपुर क्याम्पसमा आज मतदान हुने निर्वाचन समितिले जनाएको छ ।