माघ १८, मकवानपुर | बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाले सङ्घीयतालाई थप सुदृढ बनाउँदै आम नागरिकमा यसको औचित्य, सान्दर्भिकता र गरिमालाई बढाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

बागमती प्रदेशसभाको चौथो वार्षिकउत्सवका अवसरमा आज सम्बोधन गर्नुहुँदै उहाँले २०७४ साल माघ १८ गते प्रदेशसभाको पहिलो अधिवेशन बसेदेखि आजसम्म प्रदेशसभाबाट ६१ वटा विधेयक पारित हुनुका साथै महत्वपूर्ण निर्णय भएको छ भन्नुभयो ।

उहाँले प्रदेशको सामान्य प्रशासन, सुशासन र शान्ति सुरक्षालाई व्यवस्थित एवं विश्वासनीय बनाउने जनशक्तिलाई दृढ तथा सशक्त गराउन आवश्यक आधार तयार गर्ने जिम्मेवारी पनि यही प्रदेशसभाको नै भएको बताउनुभयो । यसबाट मात्र नेपाली जनताले चाहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरण, न्याय, समानता र मानव अधिकारको सुदृढिकरण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशसभाले आगामी दिनमा पनि आफ्नो कार्य प्रणालीलाई व्यवस्थित गरी प्रदेशका महत्वपूर्ण विषयमा विधि निर्माण गरी प्रदेशको समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदेशस्तरका जनताको जनजीविकाको सवाललाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा सरकारले नियमित छलफल गरी समुचित योजना तर्जुमा गर्नु अत्यावश्क रहेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारप्रति जनताको आकांक्षा र भरोसामा कुनै किसिमको कमी आउन दिन नहुने बताउनुहुँदै यस प्रकारका आकांक्षा र विश्वासलाई व्यवहारमा मूर्त रुप दिनको लागि प्रदेश सरकारका नीति, कार्यक्रम बजेट लगायतका विषयमा जनताको हित र न्यायका पक्षमा केन्द्रीत रहन प्रदेशसभा सधैँ सचेत र क्रियाशील हुन आवश्यक भएको उल्लेख गर्नुभयो ।

त्यस्तै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभा सञ्चालनको सन्दर्भमा सभामुख सानुकुमार श्रेष्ठले सबै राजनीतिक दलसँग समन्वयकारी भूमिका निर्वाह नगरेको आरोप लगाउनुभयो । उहाँले वर्तमान सरकारको काम गर्ने अवधि निकै थोरै भए तापनि जनताप्रतिको उत्तरदायित्व धेरै भएकोले सबै मिलेर जनहितका काममा लागि पर्नुपर्ने बताउनुभयो । उहाँले कहीँकतै कमी कमजोरी भएका छन् भने आ–आफ्नो ठाउँबाट समीक्षा गर्दै सुधार्नु पर्ने र सबैको उद्देश्य समग्र प्रदेशको विकास नै हुनुपर्ने बताउनुभयो ।

उहाँले चाँडै प्रदेशमा मन्त्रालय विभाजन गर्नुको औचित्य पुष्टि हुनेसमेत बताउनुभयो । उहाँले भन्नुभयो “प्रदेश सरकारले मन्त्रालय विभाजन गर्यो भनेर, विभिन्नस्तरमा टिक्का टिप्पणी भइरहेको छ भन्ने सुनिन्छ, हामीले मन्त्रालय विभाजन भागबण्डा मिलाउन होइन, जनताप्रति प्रदेश सरकारको उत्तरदायित्व धेरै भएकाले तीव्र गतिमा काम गर्न मन्त्रालय विभाजन गरेका हौँ । र, त्यसको औचित्य चाँडै पुष्टि हुनेछ । कहीँकतै कसैले शङ्का उपशङ्का गरिरहन जरुरी छैन ।”

उहाँले कोरोनाको महामारीबाट जनतालाई जोगाउनेदेखि प्रदेशमा बन्द अवस्थामा रहेका उद्योग धन्दा सञ्चालनमा ल्याउने, रासायनिक मल कारखाना खोल्ने, राष्ट्रिय गौरवको आयोजनाको कार्यमा प्रदेश सरकारले सक्रिय ढङ्गबाट कार्य अघि बढाइरहेको बताउनुभयो ।

त्यसैगरी कार्यक्रमको सभाध्यक्षसमेत रहनुभएका सभामुख श्रेष्ठले आफूले सबै राजनीतिक दल र सत्तापक्ष वा प्रतिपक्ष कसैलाई पनि पूर्वाग्रही ढङ्गबाट नभइ समान रुपमा हेरेको स्पष्ट पार्नुभयो । उहाँले प्रदेशसभा सुचारु गर्ने, प्रदेश सरकार सञ्चालनको लागि आवश्यक नीति निर्माण गर्ने, राष्ट्रिय गौरवको आयोजना कार्यान्वयन गर्ने, समग्र प्रदेशको विकासका काम गर्ने सन्दर्भमा आफू सदैव सहयोगीको रुपमा रहेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभाका उपसभामुख राधिका तामाङ, मन्त्री, प्रदेशसभा सचिवालयका सचिव, विभिन्न मन्त्रालयका सचिव, उच्च पदस्थ कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

Related News