१७ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकमा नेपाली कांग्रेसको योगदानको प्रचार गर्नुपर्छ : प्रधानमन्त्री देउवा

५ फाल्गुन २०७८, बिहीबार ०७:२९

फागुन ५, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले नेपालमा लोकतन्त्र स्थापनाका लागि थुप्रै ऐतिहासिक आन्दोलनको नेतृत्व गर्दै आएको भए पनि त्यसलाई प्रचारप्रसार गरी जनतासम्म पुर्याउनुपर्नेमा जोड दिनुभएको छ । 

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’को आज प्रधानमन्त्री निवास बालुवाटारमा विमोचन गर्दै उहाँले लोकतन्त्र, न्याय, समानताका पक्षमा स्थापनाकालदेखि क्रियाशील कांग्रेसका बारेमा गलत प्रचार गर्नेविरुद्ध निर्भयका साथ प्रतिवाद गर्नुपर्दछ भन्नुभयो । 

प्रधानमन्त्री देउवाले नेपालमा पटक पटकका प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरी मुलुकमा लोकतन्त्रको स्थापनादेखि देशको विकास र नागरिकको उत्थानमा नेपाली कांग्रेसले उल्लेखनीय कार्य गरेको भए पनि त्यसको उचित प्रचार प्रसार हुन नसकेको भन्दै कांग्रेसले देशको उत्थान र विकासमा गरेका कार्यहरुको प्रचार गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रधानमन्त्री देउवाले स्थापनादेखि नै जनता र देशका पक्षमा काम गर्दै आएको कांग्रेसले यसपटक पनि अमेरिकी सहायता निकाय, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) पनि नेपालको विकासका लागि भएकाले यसलाई अनुमोदन गर्नुपर्दछ भन्ने स्पष्ट अडानमा रहेको उल्लेख गर्नुभयो । 

“एमसिसीका बारेमा नेपाली कांग्रेसको धारणा एउटै छ, यसलाई अनुमोदन गर्ने विषयमा पार्टीले निर्णय गरिसकेको छ”, उहाँले भन्नुभयो । सभापति देउवाले नेपालमा   प्रजातन्त्र स्थापनामा विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, सुवर्णशम्शेर राणा, कृष्णप्रसाद भट्टराई, सूर्यनाथ उपाध्यायको ठूलो योगदान रहेको भन्दै उहाँहरुलाई कांग्रेसले सदैव सम्मान गर्नुपर्ने बताउनुभयो । 

उहाँले नेता केसीले लेखेको उक्त पुस्तक नेपाली कांग्रेसको इतिहास थाहा पाउन चाहने जो कोहीलाई पनि मार्गदर्शक हुने बताउँदै सम्पूर्ण नागरिकलाई पुस्तक पढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले राष्ट्रिय हितका पक्षमा खुट्टा कमाउन नहुने बताउनुभयो । “कांग्रेस बोली फेरिरहने पार्टी होइन, कांग्रेसले आफ्नो दृढ अडान कायम राख्छ”, उहाँले भन्नुभयो । कांग्रेसभित्र आबद्ध व्यक्तिले कांग्रेस बुझ्नु जरुरी रहेको बताउँदै उक्त पुस्तक कांग्रेस बुझ्न चाहनेका लागि प्रेरणाको स्रोत बन्ने उहाँको भनाइ थियो ।

कांग्रेस नेता एवं पुस्तकका लेखक अर्जुननरसिंह केसीले झण्डै तीन दशक आफू कांग्रेस केन्द्रीय तहमा रहँदा विभिन्न पार्टीका कार्यक्रम र प्रशिक्षणका क्रममा उठेका प्रश्नलाई सम्बोधन गर्नका लागि आफूले उक्त पुस्तक तयार गरेको बताउनुभयो । 

स्थानीय तहमा रहेका कांग्रेसका हजारौँ कार्यकर्तालाई कांग्रेसको सकारात्मक पक्षका बारेमा चिनाउनका लागि उक्त पुस्तक तयार गरेको नेता केसीको भनाइ थियो । पुस्तकका बारेमा टिप्पणी गर्दै वरिष्ठ पत्रकार प्राध्यापक पुरुषोत्तम दाहालले एउटा किताबमा पार्टीको सिङ्गो इतिहास अटाउन नसक्ने बताउँदै पार्टीको शीर्ष नेताबाट कांग्रेसको इतिहासका बारेमा पुस्तक लेख्न सुरु गर्नु सकारात्मक भएको बताउनुभयो । 

उहाँले पुस्तकले विसं २००७ को क्रान्तिका नायक विश्वेश्वरप्रसाद कोइराला, २०४६ सालको जनआन्दोलनको कमाण्डर गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र २०६२/०६३ को आन्दोलनका नेता गिरिजाप्रसाद कोइरालालाई जुन हिसाबले चिनाउनुपर्ने हो त्यो चिनाउन नसकेको टिप्पणी गर्नुभयो । 

अर्का टिप्पणीकार राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्र गौतमले मुलुकका लागि कांग्रेस किन र कसरी बन्यो भन्ने आम नागरिकको अलमललाई पुस्तकले मेटाउने प्रयास गरेको बताउनुभयो । पुस्तकमा भाषागत त्रुटि भए पनि पुस्तक पठनीय मात्र नभई सङ्ग्रहणीय भएको उहाँको भनाइ छ ।

अक्सफोर्ड इन्टरनेशनल पब्लिकेशन प्राली प्रकाशक रहेको ४८४ पृष्ठको यस पुस्तकमा भूमिका पूर्वराष्ट्रपति डा रामवरण यादव र प्रा डा लोकराज बरालले लेख्नुभएको छ । पुस्तकमा नेपाली कांग्रेसका बारेमा इतिहास, संरचनागत सङ्गठन, इतिहास निर्माता नेताको वीरतापूर्ण योगदान, पार्टीको झण्डा, निर्वाचन चिह्नलगायतका ऐतिहासिक विषयमा गहिरो ज्ञान लिन चाहनेका लागि उपयोगी देखिन्छ । पुस्तकमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना, नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना, दुवै कांग्रेसको एकीकरण, कांग्रेस स्थापनाभन्दा अघिका विद्रोह र विद्रोहीको रोचक–रोमाञ्चक परिचय, कांग्रेसले उनीहरूको योगदानलाई विरासतका रुपमा ग्रहण गर्नुका कारणबारे अत्यन्त रोचक इतिहासको प्रस्तुति गरिएको छ । 

इतिहासका विभिन्न कालखण्डमा परिवर्तनका निम्ति सहभागी, त्याग, योगदान र जीवन उत्सर्ग गरेका, हराएका तथा ओझेलमा परेका, बिर्सिएका प्रजातान्त्रिक आन्दोलनका उल्लेखनीय क्रान्तिकारीलाई चिनाउने जमर्काे यस पुस्तकले गरेको छ । साथै २००७ सालको क्रान्ति, २००७ सालपछि २०१५ सालसम्म कांग्रेसको अवस्था, २०१५ सालमा आम निर्वाचनपछि पहिलो जननिर्वाचित सरकार गठन गर्न कांग्रेसले गर्नुपरेको सङ्घर्ष तथा २०१७ सालपछि पार्टीले भोग्नुपरेको प्रतिबन्ध र निषेधको अवस्थामा कांग्रेसको गतिविधिबारेमा खोजमूलक जानकारी दिइएको छ । 

पुस्तकमा २०३३ सालमा प्रतिपादित राष्ट्रिय मेलमिलाप तथा एकता नीति, २०३६ सालको जनमत सङ्ग्रह र देशव्यापी विद्यार्थी आन्दोलन, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन, २०४७ को संविधान, राजाको प्रत्यक्ष शासन, माओवादीलाई शान्तिपूर्ण खुला राजनीतिमा ल्याउँदाका गतिविधि, शान्ति प्रक्रियामा नेतृत्व, २०६२–६३ को जनआन्दोलन अन्तरिम संविधानदेखि २०७२ को संविधान जारी गर्ने बेलासम्म कांग्रेसको भूमिका के कस्तो रह्यो भन्ने विषयहरुको विवरण यस पुस्तकमा विस्तार गरिएको छ । 

यसैगरी २००३ सालदेखि २०७८ सम्मका कांग्रेसका ऐतिहासिक गतिविधि वा घटनाको तिथिमितिका साथै पार्टीका वरिष्ठ नेताहरूको निधनको जानकारी पनि समेटिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अष्ट्रेलियामाथि नेपालको शानदार जित, नेपाल समूह बिजेता चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक आइपीएल: विराट कोहली २१ करोडमा रिटेन हुँदा अरु खेलाडीहरु कतिमा भए रिटेन? राष्ट्रिय टिमकी अमिषालाई १ लाख नगदसहित सम्मान पाकिस्तानका मोहसिनले जनकपुरबाट एनपीएल खेल्ने काठमाडौं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा हात्ती आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु आरजुसँग भेट्न खोजेको म्यासेज अनुमतिबिना सार्वजनिक भएपछि कानूनी प्रक्रियामा जाने डीपी अर्यालको चेतावनी फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित लक्ष्मीपूजामा बालिएको दियोबाट आगलागी हुँदा गौशालाको पसलमा लाखौँको क्षति भाइटीकाको शुभ साइत बिहान ११:३७ बजे, पश्चिमतर्फ फर्किएर टीका लगाउनु उत्तम यी हुन् तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री, किन महत्वपूर्ण छन् ? कोमोविरुद्ध लाजियोको ५–१ गोल अन्तरको सानदार जित घट्यो डिजेल र मट्टितेलको मूल्य इंग्ल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित श्रीमती र युवकको प्रेमका कारण भयो वीरेन्द्रको हत्या सुन तस्करीमा संलग्न महरा थुनामुक्त सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ खाना पकाउने क्रममा कुकर पड्किँदा घाइते भएकी महिलाको मृत्यु