भदौ १४, काठमाडौँ | नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाको पाँचवर्ष कार्यकाल सकिन लाग्दासमेत संचारसंबन्धित विभिन्न कानुनहरु टुङ्गोमा पुग्न नसकेकोप्रति प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गरेका छन् |
मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुन चालु अधिवेशनमा नै टुंगोमा पुर्याउन पहल गर्न प्रधानमन्त्री देउवालाई महासंघको प्रतिनिधिमण्डले मंगलबार आग्रह गरेको हो ।
भेटमा प्रधानमन्त्री देउवाले महासंघले उठाएका र राखेका मागहरूलाई सकारात्मक रूपमा लिदै तत्काल टुंगोमा पुर्याउनका लागि पहल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई फोनमार्फत् निर्देशन दिएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।
भेटमा महासंघका तर्फबाट अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव पुरी सहभागी भएका थिए । महासंघले प्रतिनिधिसभा भंग हुनुअगावै सञ्चारसम्बन्धी कानुनका विषयलाई टुंगोमा पुर्याउन पहल गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटालाई पनि भेटेर ध्यानाकर्षण गराउने कार्यक्रम रहेको महासचिव पुरीले विज्ञप्तिमार्फत् जानकारी दिएका हुन् । महासंघले अहिले सञ्चारसम्बन्धी कानुन नहुँदा विद्युतीय कारोबार ऐनलगायतका विभिन्न कानुनहरू आकर्षित गरी पत्रकारलाई दुःख दिने काम गरिएको भन्दै चिन्ता प्रकट गरेको छ ।