कात्तिक ६, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको प्रतिस्पर्धा एमालेसँग हुने बताएका छन्।
नेपाली कांग्रेस र माओवादी केन्द्रलगायतका पार्टीहरू सयभन्दा तलको सिटमा खुम्चिसकेको उल्लेख गर्दै उनले एमाले नै राप्रपाको मुख्य प्रतिस्पर्धी भएको बताएका हुन्। आइतबार काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले आगामी निर्वाचनमा पनि पटकपटकको नेतृत्वमा असफल भइसकेका पार्टीहरूलाई भोट हाल्ने हो भने नागरिकले नै दुःख पाउने जिकिर गरे।

कांग्रेस र माओवादीलगायत दलका मतदाताले अहिले राप्रपाको सक्रियता खोजिरहेको उल्लेख गर्दै उनले कांग्रेस, कम्युनिस्टको झन्डा धुरीमा राखेर राप्रपालाई भोट दिन मतदाता तयार रहेको दाबी गरे। ‘अहिले कांग्रेस, माओवादी पार्टीमा रहेका मतदाताहरू राप्रपाको सक्रियता खोजिरहेका छन्। कांग्रेस, कम्युनिस्टको झन्डा घरधुरीमा राखेर भए पनि राप्रपालाई भोट दिन मान्छे तयार छन्। यो निर्वाचनमा राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न सक्दैन,’ उनले भने।
“यो निर्वाचनमा राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न सक्दैन । यसपटक राप्रपाको चुनावी प्रतिस्पर्धा नेकपा (एमाले)सँग भएको छ । अरु पार्टीहरुको त हिसाबकिताब नै छैन,” उनले भने, “उमेदवार नै सय कटाउन सकेका छैनन् । कांग्रेस, माओवादी भन्ने पार्टी त सयभन्दा तल छन् । कोही त ५० भन्दा तल छन् ।”देशको विकास होस् भन्ने चाहना राख्ने हरेक नेपालीहरुले यसपटक हलोमा भोट हालेर राप्रपालाई जिताउन आवश्यक भएको उनले बताए ।