रोल्पाको सुरक्षा व्यवस्था चुस्त, ३१ मतदानस्थललाई अतिसंवेदनशील

Posted on: 15 Nov, 2022

कात्तिक २९, रोल्पा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई  स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यहाँको सुरक्षा व्यवस्थापनलाई चुस्त बनाइएको छ । 

यहाँ ८६ मतदानस्थलमा  एक सय ७७ मतदान केन्दको व्यवस्था गरिएको छ । मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा बाँडेर सुरक्षा व्यवस्था मिलाइएको छ । 

छयासीमध्ये ३१ मतदानस्थललाई अतिसंवेदनशील मतदानस्थलका रूपमा राखिएको छ । जिल्लाका अतिसंवेदनशील मतदानस्थलमा थवाङमा तीन, त्रिवेणीमा एक, रुन्टीगढीमा छ, परिवर्तनमा दुई, गङ्गादेवमा छ, माडीमा एक, सुनछहरीमा पाँच र लुङ्ग्री गाउँपालिकामा पाँच  सहित रोल्पा नगरपालिकामा दुई छन् । 

गत स्थानीय तह निर्वाचनमा ८१ मतदानस्थल रहेको जिल्लामा जनसङ्ख्या, भौगोलिक अवस्था, यातायात र सुरक्षा अवस्था हेरेर गत भदौमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले पाँच मतदान केन्द्र थप्ने गरी सिफारिस गरेको थियो । 

अस्थायी मतदान केन्द्रका रूपमा सदरमुकाम लिवाङको कारागार कार्यालय र जिल्ला समन्वय समिति प्राङ्गणमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । ती केन्द्रमा कैदी, सेना प्रहरी तथा वृद्धाश्रमका रहेका व्यक्तिले समानुपातिक निर्वाचनमा  मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय रोल्पाका निर्वाचन अधिकारी पदमबहादुर डाँगीले जानकारी दिनुभयो । 

प्रदेशसभा (१) मा ६८ हजार एक सय ६४ र प्रदेशसभा (२) मा ७७ हजार तीन सय सातसहित जिल्लामा एक लाख ४५ हजार चार सय ७१ मतदाता रहेका छन् ।  

प्रतिनिधिसभामा पाँच दलले उम्मेदवारी दर्ता गराएका छन् । यसरी उम्मेदवारी दर्ता गर्ने दलमा लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन, नेकपा( एमाले)बाट पूर्ण बुढामगर, नेपाल मजदुर किसान पार्टीबाट नातीभाइ ह्योम्बा ,राप्रपा नेपालका रामबहादुर वली क्षेत्री र राप्रपाबाट लीला रावत प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रदेशसभा–१ मा माओवादी केन्द्रका जोखबहादुर महरा, एमालेका कमल बुढाथोकी, राप्रपा नेपालका गङ्जबहादुर शाही र राप्रपाका पदमबहादुर थापाले प्रतिस्पर्धा गर्दैछन् । प्रदेशसभा–२ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका अमरसिंह पुन, राप्रपाका केशरबहादुर पुन, स्वतन्त्रबाट दीपेन्द्रकुमार पुनमगर, एमालेका प्रेमबहादुर घर्तीमगर र राप्रपाका सेते दमाईबीच प्रतिस्पर्धा हुने भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!