बालविवाह तथा बहुविवाह कसुरमा एक अभियुक्तलाई १५ महिना कैद सजाय

Posted on: 11 Feb, 2023

माघ २८, सप्तरी | पन्ध्र वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको कसुरमा एक अभियुक्तलाई शुक्रबार एक वर्ष तीन महिना कैद सजाय गरिएको छ ।

कञ्चनरुप नगरपालिका–११ गोरपारका ३६ वर्षीय चन्द्रनारायण धामीलाई कैद सजाय भएको अदालतका इजलाश अधिकृत कुमार सुवेदीले बताउनुभयो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई बहुविवाहको कसुरमा एक वर्ष र बालविवाहको कसुरमा तीन महिना कैद सजाय गरेको हो ।

यसैगरी आरोपितलाई बहुविवाहमा रु १० हजार र बालविवाहमा रु तीन हजार जरिवाना समेत भएको छ । यसका साथै आरोपितबाट फौजदारी कसूर पीडित राहत कोषमा रु चार सय जम्मा गर्नुपर्ने फैसला भएको छ । जेठी श्रीमती २१ वर्षीया मेनुकाकुमारी चौधरीले आरोपित श्रीमान्ले १५ वर्षीया बालिकालाई गत मङ्सिर १ गते विवाह गरी घरमा भित्र्याएको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिनुभएको थियो । प्रहरीले पुस २५ गते आरोपितलाई पक्राउ गरी उजुरी दर्ता गरेको थियो ।

जिल्ला अदालतले यही माघ १७ गते बालिकालाई सफाइ र धामीलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!