चितवन | चितवनको भरतपुर महानगरपालिका वडा नं. ११ बाइपास सडक खण्डमा प्रहरीले कुटपिट गरेको घटनामा जुगेडीमाई टोलका अमृत कुमाल पीडित रहेको खुलेको छ। पुस १५ गते राति भएको घटनाको भिडियो माघ ६ गते सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना सार्वजनिक भएको हो।
कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर भुजेल घर्ती रहेको पुष्टि भएपछि उनलाई सोमबार निलम्बन गरिएको छ। निलम्बनको निर्णय हुँदा असई भुजेल तालिममा थिए। जिल्ला प्रहरी कार्यालय चितवनले घटनाको छानबिनका लागि प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।
समितिले घटनामा संलग्न प्रहरी र पीडितसँग छलफल गरी सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी पाएको छ। तर, कुटपिटका शिकार अमृत कुमाल हालसम्म सम्पर्कमा आएका छैनन्। प्रहरीले उनको खोजी जारी राखेको जनाएको छ।
घटनाको पृष्ठभूमि
पुस १५ गते राति गणेशथान अस्थायी प्रहरी पोष्टका असई बुद्धिबहादुर भुजेल घर्ती नेतृत्वको प्रहरी टोली बाइपास रोड खण्डमा चेकिङमा खटिएको थियो। त्यही बेला ३ वटा मोटरसाइकल र १ वटा स्कुटरमा आएका व्यक्तिहरूलाई प्रहरीले रोकेको थियो। ठूलो आवाजमा गुडिरहेका बाइकका युवाहरूलाई देखेर टोलीले रोक्न खोज्दा केही व्यक्ति मोटरसाइकल र स्कुटर छाडेर भागे।
तर, अमृत कुमाल भने भाग्न सकेनन्। उनलाई असई भुजेलले ‘माथिको पावर लगाउन खोज्ने’ भन्दै कुटपिट गरे। त्यसपछि नियन्त्रणमा लिएर उनलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगियो। अस्पतालको रिपोर्टमा मादकपदार्थ सेवन (मापसे) गरेको पुष्टि भएपछि कुमाललाई एक रात प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए।
डीएसपी महतोका अनुसार, पुस १६ गते कुमाललाई ट्राफिक जरिवाना तिराई परिवारका सदस्यको जिम्मा लगाइएको थियो। अस्पताल लैजाँदा र परिवारलाई जिम्मा लगाउँदा उनले प्रहरी कुटपिटको कुनै कुरा गरेनन्, न त त्यहाँ खटिएका प्रहरीले केही भने। तर, घटनाको झन्डै एक महिनापछि मात्रै यो विषय बाहिर आएको हो।
गणेशथानका स्थानीय एक युवकका अनुसार, अमृत कुमाल यसअघि पनि पटक–पटक कानुन उल्लंघनका कारण प्रहरी नियन्त्रणमा पर्नेसँगै असई भुजेलले उनलाई पहिल्यैदेखि चिनेका थिए। उनले कुमालको विगतलाई ध्यानमा राख्दै आवेशमा आएर कुटपिट गरेको हुन सक्ने अनुमान छ। युवकले भने, ‘जति रिस उठे पनि त्यसरी कुटपिट नगरेको भए हुन्थ्यो।’
घटनाको सत्यतथ्य पत्ता लगाउन कुट्ने र कुटाइ खाने दुवै पक्षको कुरा सुन्नुपर्ने भएकाले प्रहरी अहिले अमृत कुमालको खोजीमा छ।
‘हामीले उनको खोजी गरिरहेका छौं,’ छानबिन समिति संयोजक डीएसपी महतोले भने, ‘उनका अन्य साथीहरूको पनि खोजी भैरहेको छ। केही दिनभित्रै थप जानकारी आउनेछ।’
घटनाबारे छानबिन गर्न प्रहरीले पीडित कुमालको खोजी गरिरहेको छ। डीएसपी महतोका अनुसार, छानबिन समितिले कुटपिट गर्ने र कुटाइ खाने दुवै पक्षको बयान लिएर सत्यतथ्य पत्ता लगाउनेछ।