साउन ३०, चितवन । नारायणगढ मुग्लिन सडकखण्डको पाँचकिलोमा गए राति पहिरो खसेपछि सो सडक अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार राति १० बजेबाट सो ठाउँमा पहिरो खसेको हो । रातको समयमा पहिरो पन्छाउन नसकेपछि अहिले बिहानबाट पहिरो पन्छाउन शुरु गरिएको छ ।

सो सडकमा शुक्रबार दिउँसो २ बजेपछि ठाउँ–ठाउँमा पहिरो खसेपछि अवरुद्ध बनेको सडक आइतबार साँझ ५: १५ बजे पहिरो पन्छाएर यातायात आवागमन शुरु भएको थियो । दुई दिनदेखि सवारी जाममा रहेका साधन सडकबाहिर निस्कन नपाउँदै पुनः पहिरो खसेपछि यात्रुहरु अलपत्र परेका छन् ।

सौराहाका पर्यटकको उद्धार

यसैगरी अविरल वर्षाले बाढी पसेपछि जिल्लाको सौराहास्थित पर्यटकीय होटलका पर्यटकलाई आइतबार उद्धार गरिएको छ । राप्ती र बूढीराप्ती खोला सौराहामा शनिबार साँझबाट पसेपछि अधिकांश होटल डुबानमा परेका थिए ।

सबै होटलको पहिलो तलामा पानी पसेपछि पर्यटकलाई माथिल्लो तलामा राखिएको थियो । उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, स्थानीय र होटल व्यवसायी जुटेका थिए । उद्धारमा सक्रिय इलाका प्रहरी कार्यालय रत्ननगरका निमित्त प्रमुख प्रहरी निरीक्षक अभय विक्रमका अनुसार दिउँसो ट्याक्टर, गाडी, हात्ती, ¥याफ्टिङ डुङ्गामा राखेर केही पर्यटकलाई रत्ननगर र नारायणगढका होटलमा पठाइएको थियो । बिहान बाघमारा मध्यवर्ती सामुदायिक वनबाट ३० जना पर्यटकको उद्धार गरिएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सबै क्षेत्रबाट पर्यटकको उद्धार गरिएकाले यकिन तथ्याङ्क भने आई नपुगेको बताउनुभयो । सयजना भन्दा बढीलाई उद्धार गरिएको अनुमान गरिएको छ ।

आइतबार साँझ पानीको सतह घट्दै गएपछि कतिपय पर्यटक भने होटलमै रहेको र उनीहरुलाई सुरक्षित रुपमा राख्न र खुवाउन सकिने अवस्था सिर्जना भएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो ।

पर्यटकीय क्षेत्र सौराहासमेत रहेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले मानवीय क्षति नभए पनि कुखुरा, बंगुर, बाख्रा लगायतका पशु चौपाय भने धेरै सङ्ख्यामा मरेको बताउनुभयो । उद्धार र राहत वितरण कार्य तीव्र रुपमा भइरहेको जानकारी दिँदै उहाँले क्षति न्यूनीकरणका लागि हरसम्भव प्रयास भइरहेको बताउनुभयो ।

सौराहामा दुई सय नेपाली, दुई सय भारतीय र दुई सय अन्य मुलुकका पर्यटक रहेको अनुमान गरिएको थियो । पर्यटक आगमन शुरु भएसँगै होटलमा बाढी पसेपछि व्यवसायी चिन्तित बनेका छन् । रासस

Related News