सशस्त्र प्रहरी जवान मृत फेला, घटना रहस्यमयी

Posted on: 24 Aug, 2017

भदौ ८, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–६ ऐठपुरस्थित सडक छेउमा सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । 

यहाँको गड्डाचौकीस्थित सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार भीमदत्तनगरपालिका–३ घर भएका जवान कुँवरको बिहीबार बिहान शव भेटिएको हो । उहाँको साथमा रहेको मोटरसाइकल घटनास्थल नजिकै भेटिएको छ । 

कुँवरको हत्या गरिएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ । घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!