काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिकाकी सरितादेवी चौधरीले एक वर्षअघि घाँटी दुख्न थालेपछि सामान्य औषधिले निको पार्न खोज्नुभयो । दुख्न थालेको एक वर्ष बितिसक्दा पनि उहाँले सोच्नुभएन कि यो साधारण रोग होइन भन्ने कुरा । सुरुमा सामान्य घाँटी दुखाइ जस्तो लागेर स्थानीय मेडिकलबाट औषधि खानुभयो । केही समय दुखाइ कम भयो । तर, फेरि पुरानै घाउ जस्तै पीडा सुरु भयो ।
दुखाइ यति बढ्न थाल्यो कि सामान्य काम गर्न पनि सकस हुन थाल्यो । कहिले घाँटी दुख्ने, कहिले कानसम्म सर्ने बारम्बार समस्या दोहोरिएपछि उहाँ धनगढीको मायामेट्रो अस्पताल पुग्नुभयो । परीक्षण गर्दा चिकित्सकले क्यान्सर भएको बताए । सरिता भन्नुहुन्छ, “एक छिन त विश्वास नै गर्न सकिन, घाँटी दुख्ने सामान्य कुरा हो भन्ने लाग्थ्यो, घरका सबैजना चिन्तित भए पैसा छैन, कहाँ उपचार गर्ने भनेर ।”
विसं २०८० भदौमा सरिता भरतपुर क्यान्सर अस्पताल पुग्नुभयो । त्यहाँ शल्यक्रिया भयो । अहिले पनि उहाँ नियमित औषधि सेवन गर्नुहुन्छ । नगरपालिकाले उपलब्ध गराउने मासिक रु पाँच हजारको औषधि उपचार सहयोग उपचारको खर्च महँगो भएपछि सरितालाई थोरै भए पनि सहारा भएको छ । “रु पाँच हजारले केही रुपमा भएपछि राहत मिलेको छ, केही औषधि त यसैबाट किनिन्छ,” उहाँले भन्नुभयो ।
सरिता जस्तै घाँटीको अर्को क्यान्सर पीडित हुनुहुन्छ, घोडाघोडी नगरपालिका–१ का ५६ वर्षीया कुसुमदेवी डगौरा । दुई वर्षअघि घाँटीमा गिर्खा देखिएपछि छोराले उहाँलाई धनगढीको निःसर्ग अस्पताल लगेर शल्यक्रिया गराउनुभयो । पछि थप उपचारका लागि भरतपुर क्यान्सर अस्पताल रिफर गरियो । उहाँका छोरा अमन चौधरी भन्नुहुन्छ, “अहिले पनि समयसमयमा किमोथेरेपी गराउनुपर्छ, महँगो खर्च धान्न गाह्रो छ, मासिक रु पाँच हजारले औषधि किन्न भए पनि अलि राहत भएको छ ।”
दीर्घरोगीमा अर्को चुनौती बोक्नुभएकी हुनुहुन्छ, सीता मगर । घोडाघोडी नगरपालिका–१ की सीतालाई २०६९ मङ्सिरमा मिर्गौलामा समस्या भएको पत्ता लाग्यो । काठमाडौँको शिक्षण अस्पताल धाउँदै गर्दै २०८० पुस ४ गते मिर्गौला प्रत्यारोपण गर्नुप¥यो । श्रीमान्ले आफ्नै मिर्गौला दिएर जीवनदान गर्नुभयो ।
सीता भन्नुहुन्छ, “श्रीमान्ले मिर्गौला दिनुभयो, आफन्तबाट ऋण लिएर उपचार गराएँ, अझै ऋण तिर्न बाँकी छ, मासिक रु पाँच हजारले औषधि किन्न केही राहत मिलेको छ, तर महँगो औषधि अझै आफैँ जोहो गर्नुपर्छ ।” सीता जस्तै अन्य मिर्गौला प्रत्यारोपण गरेका बिरामी पनि यही सहयोगमा निर्भर छन् ।
दीर्घरोगीलाई राहतः सरकारी योजना
नेपाल सरकारले २०७८ सालमा ‘औषधि उपचार खर्च उपलब्ध गराउने कार्यविधि’ जारी गरेर मिर्गौला प्रत्यारोपण, डायलाइसिस, क्यान्सर तथा मेरुदण्ड÷पक्षाघातजस्ता दीर्घरोगीलाई लक्षित गरेको छ । यो सेवा कैलालीलगायत विभिन्न जिल्लामा छ । यो कार्यविधिअनुसार चिकित्सकको सिफारिससहित वडा कार्यालयमा निवेदन दिनुपर्छ । स्वीकृत भएपछि मासिक रु पाँच हजारका दरले रकम लाभग्राहीको बैङ्क खातामा त्रैमासिक रूपमा जम्मा गरिदिन्छ । सरकारी तलब, पेन्सन वा अन्य सामाजिक सुरक्षा भत्ता पाउनेले यो सुविधा पाउँदैनन् । एउटै व्यक्तिले एउटै किसिमको सेवा मात्र लिन पाउने नियम छ ।
घोडाघोडीमा ९० जना दीर्घरोगी लाभान्वित
घोडाघोडी नगरपालिकाका अहिल ९० जना दीर्घरोगी बिरामी यो सेवाबाट लाभान्वित छन् । अघिल्लो आर्थिक वर्षमा ७१ जनाले सेवा लिएका थिए । घोडाघोडीमा २०७९ बाट यो सेवा लागू भएको हो । सुरुको आर्थिक वर्ष २०७९÷८० मा ५८ जनाले यो सुविधा लिइरहेका थिए ।
बिरामीहरुको सङ्ख्या बढ्दै जाँदा हाल घोडाघोडीबाट ९० जनाले उपचार सेवा लिइरहेका छन् । नगर स्वास्थ्य शाखाका प्रमुख कैलाशकुमार रावतका अनुसार ती लाभग्राहीमध्ये सबैभन्दा धेरै क्यान्सरका बिरामी रहेका छन् । हालको तथ्याङ्कअनुसार ७० जना क्यान्सरपीडित छन्भने १७ जना डायलाइसिस गराइरहेका मिर्गौला बिरामी र तीनजना मिर्गौला प्रत्यारोपण गराइसकेका बिरामी रहेका छन् ।
रावतका अनुसार दीर्घरोगीको उपचार खर्च सामान्य परिवारका लागि ठूलो आर्थिक बोझ बन्ने भएकाले यो योजना गरिब र विपन्न समुदायका लागि केही रुपमा भए पनि राहत भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म मात्रै रु ३८ लाख ४० हजार लाभग्राहीलाई भुक्तानी गरिसकेको छ ।
यस्तै, वैशाखदेखि असारसम्मको भुक्तानी दिने काम प्रक्रियामा रहेको प्रमुख रावतले जानकारी दिनुभयो । नगरपालिकाले अघिल्लो आर्थिक वर्षदेखि यो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको थियो । अघिल्लो वर्ष मात्रै रु ५० लाखभन्दा बढी रकम दीर्घरोगीको उपचारका लागि भुक्तानी गरिएको थियो ।
बढ्दै क्यान्सरको जोखिम
नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख रावतका अनुसार पछिल्लो समयमा क्यान्सरका बिरामी बढ्दै गइरहेका छन् । नगरपालिकामा दीर्घरोगीको उपचार सेवा लिइरहेका ९० मध्ये ७० जना क्यान्सरपीडित छन् । अघिल्लो आर्थिक वर्षमा ७१ जनाले सेवा लिइरहेका थिए । त्यसमा ५९ जना क्यान्सरका बिरामी थिए । अहिले क्यान्सरका बिरामी बढेर ७० पुगेको रावतले जानकारी दिनुभयो । सेवा लिइरहेका कतिपयको मृत्य भइसकेको छ ।
उहाँ भन्नुहुन्छ, “तरकारी तथा फलफूलमा विषादीको अत्यधिक प्रयोग, बजारमा सजिलै पाइने प्रशोधित (प्रोसेस्ड) खाना, चिल्लो, मसलादार तथा फास्टफुडको बढ्दो प्रयोगले क्यान्सरजस्ता रोग निम्त्याइरहेको छ, यस्ता खाना दीर्घकालीन रूपमा शरीरमा विभिन्न किसिमका सङ्क्रमण र क्यान्सरको कारक बन्ने अध्ययनले पनि देखाएका छन् ।”
रावतका अनुसार नगरपालिकाको तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षको वैशाखदेखि असार महिनासम्म भुक्तानी वितरण भइरहँदासमेत क्यान्सरका नयाँ बिरामी थपिने अनुमान गरिएको छ । यसले क्यान्सर नियन्त्रणका लागि आम नागरिकमा सचेतना अभिवृद्धि र नियमित स्वास्थ्य परीक्षणको आवश्यकता झनै देखिएको उहाँको भनाइ छ ।
औषधि खर्च राहत तर उपचार अझै महँगो
नगरपालिकाबाट पाइने मासिक रु पाँच हजारले औषधि किन्ने काममा सहयोग भए पनि दीर्घरोगीका लागि आवश्यक उपचार खर्चको तुलनामा यो रकम थोरै मात्र हो । क्यान्सरको शल्यक्रिया, किमोथेरेपी, रेडिएसनजस्ता उपचार महँगो भएकाले थुप्रै बिरामी अझै ऋणमा डुबिरहेका छन्भने कतिले ज्यान गुमाइरहेका छन् ।
सरितादेवी भन्नुहुन्छ, “शल्यक्रिया मात्रै होइन, किमोथेरेपी र अन्य औषधि पनि कति महँगो छ, मासिक रु पाँच हजारले के नै पुग्छ र ? तर, सरकारले दिएको सहयोग नभएको भए सायद औषधि किन्न पनि गाह्रो हुन्थ्यो होला ।”
यस्तै, सीता मिर्गौला प्रत्यारोपणपछि जीवनभर औषधि खाइरहनुपर्ने बताउनुहुन्छ । “औषधि महँगो छ, अझै ऋण तिर्नुपर्छ, रु पाँच हजारले केही राहत भने पुगेको छ,” उहाँले भन्नुभयो, “उपचार खर्च रकम अझै बढाइदिए हामीजस्ता विपन्न परिवारलाई सहज हुने थियो ।”
–––