३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण

११ असार २०८२, बुधबार १२:२७
काठमाडौँ । जिल्लाको बेनी नगरपालिका-५ पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण गरिएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत पुलाचौरको बस्ती मुनीको मुहानबाट पानी तानेर घरघरमा धारा बनाई वितरण गरिएको हो ।
आर्थिक वर्ष २०७६/७७ देखि निर्माण सुरु भएको आयोजना सात वर्षमा सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद सुवेदीले बताउनुभयो । “तीन वटा योजनाअन्तर्गत निर्माण खानेपानी आयोजनाका लागि पर्याप्त बजेट नआउँदा ढिलाइ भएको हो”, उहाँले भन्नुभयो, “पुलाचौरको तल्लो र मध्य गाउँको योजना यसअघिका वर्षमा सकिएको थियो । माथिल्लो टोलमा यसै सातादेखि पानी वितरण गरेर आयोजनालाई पूर्णता दिएका हौँ ।”
अध्यक्ष सुवेदीका अनुसार जोत्रे र पधेरा मुहानको पानीलाई ७५ हजार लिटर क्षमताको टङ्कीमा सङ्कलन गरेर २० हर्सपावर क्षमताको ‘सबमर्सिव’ पम्पबाट दुई सय ५० मिटरमाथि रहेको चुलेसीस्थित अर्को टङ्कीमा पुर्‍याएर थप तीन वटा रिजर्भ टङ्कीमार्फत वितरणको व्यवस्था मिलाइएको छ । आठ सय मिटर लामो तीन इञ्चको पाइपमार्फत माथिल्लो टङ्कीमा पानी पु¥याइएको उहाँले उल्लेख गर्नुभयो ।
आयोजनाबाट एक सय ८२ परिवार लाभान्वित भएका उपभोक्ता समितिका सचिव सागर पौडेलले बताउनुभयो । “विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयमा पनि धारा जडान गरिएको छ । सबैका घरमा मिटरसहितको निजी धारा जडान गरेर पानी वितरणको व्यवस्था मिलाएको छ”, उहाँले भन्नुभयो । सचिव पौडेलले यसअघि सार्वजनिक धाराबाट गाग्री, बोत्तल र ग्यालीनमा पानी ओसार्नुपर्ने बाध्यता अब अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।
“आठ/दश घरले एउटा धाराबाट पानी ल्याउँदा पालो पर्खनुपर्ने र कहिलेकाँही पानीका कारणले बिवाद पनि हुन्थ्यो”, स्थानीय मिनाकुमारी विकले भन्नुभयो, “घरकै धारामा पानी आउन थालेपछि पानी ओसार्दा हुने समयको बचत र झञ्जट हटेको छ ।”
उपभोक्ताको श्रमदान बाहेक आयोजना निर्माणमा रु दुई करोड १० लाख ४८ हजार ३४८ खर्च भएको खानेपानी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले जानकारी दिनुभयो । उपभोक्ताले कूल लागतको १० प्रतिशतका दरले श्रमदान गरेका छन् ।
पानी तान्ने विद्युत् उपकरण सञ्चालन गर्न ‘मोबाइल अपरेटिङ सिस्टम’ जडान गरिएको छ । यो प्रणालीबाट उपभोक्ताले घरबाट पानी तान्ने उपकरण खोल्न र बन्द गर्न सक्छन् । विद्युतीय उपकरण भण्डारण, उपभोक्ता संस्थाको कार्यालय र हेरालुको आवासका लागि भवन पनि निर्माण भएको छ ।
योजना निर्माणमा प्रतिघर २० दिनका दरले श्रमदान गरिएको उपभोक्ता बलबहादुर परियारले बताउनुभयो । घरघरमा पानी वितरण हुन थालेपछि पुलाचौरबासीको दैनिकी फेरिएको छ । “पानीको पालो कुर्दा खाना पकाउन ढिला भएर कहिलेकाँही बालबालिका विद्यालय जान नपाउने अवस्था थियो”, उहाँले भन्नुभयो, “अहिले समयको बचत हुनुका साथै सरसफाइ गर्न सहज भएको छ भने स्थानीयको दैनिकी फेरिएको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’