पुस १७, काठमाडौं । ग्राण्डी इन्टरनेसनल हस्पिटलसहित पाँच हस्पिटलविरुद्ध ठगीमा मुद्दा चलाउन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले महानगरीय प्रहरी परिसरमा पत्राचार गरेको छ ।
स्वास्थ्योपचारका लागि आउने विरामीबाट अतिरिक्त रकम लिएर ठगी गरेको भन्दै थप अनुसन्धान गरी कारवाही चलाउन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले महानगरीय प्रहरी परिसरमा पत्राचार गरेको हो ।

विभागले सोमवार काठमाडौंको धापासीस्थित ग्राण्डी इन्टरनेसनल हस्पिटल, ग्वार्कोस्थित बी एण्ड बी हस्पिटल प्रालि, बाँसबारीको नेसनल इन्टिच्यूट अफ न्यूरोलोजिकल एन्ड एलिड साइन्स (न्यूरो हस्पिटल), थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटल र बसुन्धाराको इसान बाल हस्पिटल विरुद्ध ठगी मुद्दामा थप छानविन गरी मुद्दा दायर गर्न प्रहरी परिसर टेकुमा पठाएको हो ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बजार अनुगमनका क्रममा विरामीबाट अतिरिक्त शूल्क लिएको पाइएपछि ती अस्पतालहरूविरुद्ध थप अनुसन्धान गरी मुद्दा दायर लगायतका कारवाही प्रक्रिया चलाउन प्रहरीलाई पत्राचार गरेको बताए ।
विभागले गत मंसिर अन्तिम साता ती अस्पतालमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा दोषी देखिएपछि वयान लगायतका प्रक्रिया पूरा गरेर विभागले बाँकी अनुसन्धान र मुद्दा प्रक्रियाका लागि प्रहरीलाई पत्राचार गरेको जनाएको छ ।