२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जाजरकोट: नौजनाको ज्यान जाँदासम्म पुगेनन् स्वास्थ्यकर्मी

२२ पुष २०७४, शनिबार १५:४७

पुस २२, जाजरकोट । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले नौजनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । 

स्वास्थ्य संस्था वडकुलेमा भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि नै सकिएको संस्थाका प्रमुख हरिबहादुर सिंहले बताउनुभयो । जिल्लाबाट पठाएको औषधि र स्वास्थ्यकर्मी अहिलेसम्म पुगेका छैनन् सिंहले भन्नुभयो । 

रोग प्रभावित क्षेत्रमा अझै स्वास्थ्यकर्मी पुग्न नसकेको स्थानीय प्रेम न्यौपानेले बताउनुभयो । स्वास्थ्य संस्थामा मात्र उपचार कार्य जारी रहेको प्रमुख सिंहले बताउनुभयो । 

औषधि र स्वास्थ्यकर्मी छिटो रोग प्रभावित क्षेत्रमा पठाउनुप¥यो भन्दै स्थानीयवासीले बड्कुले स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीलाई केहीबेर घेरेको डा पवन शाक्यले बताउनुभयो । 

स्वास्थ्य चौकी बड्कुलेबाट रोग प्रभावित क्षेत्र मजकोट पुग्न करिब पाँच घण्टा लाग्ने भएका कारण त्यहाँ पुग्न नसकिएको हो । अहिले स्वास्थ्य संस्थामा आफूमात्र भएको र आज मात्र १४५ जना बिरामीलाई स्वास्थ्य चौकीमा नै सामान्य जाँच गरेको सिंहले बताउनुभयो । 

सो स्थान सदरमुकामभन्दा २३ कोस टाढा पर्छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले पाँचजनाको भाइरलका कारण मृत्यु भएको पुष्टि गर्नुभयो । जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले रोग प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालनका लागि सदरमुकामबाट औषधि झिकाएको बताउनुभयो । 

रुघाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाउँपालिका–२ मजकोटकी ५२ वर्षीया धनसरा नाथ र ७२ वर्षीय सतरुप शाही, ६२ वर्षीया आइती तिरुवा, फापरवाँया टोलका ५२ वर्षीय करसिंह टमाटा, स्थानीय रामबहादुर शाहीका पाँच दिनका छोरा, शान्तबहादुर शाहीका दुई महिनाका छोरा, मानबहादुर विकका पाँच महिनाका छोरा, कालो दमार्इंका सात महिनाका छोरा, बिर्ख नाथकी पाँच वर्षीया छोरी कविता नाथ र एक नाम नखुलेका बालकको मृत्यु भएको स्वाथ्य चौकी बड्कुलेका प्रमुख हरिबहादुर सिंहले बताउनुभयो । 

ज्वरो र रुघाखोकीले ८०० भन्दा बढी गाउँले बिरामी परेका छन् । स्वास्थ्य चौकीमा दैनिक २०० भन्दा बढी भाइरलका बिरामी आउने गरेको उहाँले बताउनुभयो । 

संस्थाभन्दा धामीझाँक्रीको भरमा 

वर्षेनी जाजरकोटका विकट गाउँमा मौसमी रुघाखोकी र ज्वरोका कारण यही समयमा यहाँका स्थानीयवासी बिरामी हुने गर्छन् । अत्यधिक चिसो मौसमका कारण यहाँका स्थानीयवासी बिरामी हुने गरेका छन् । दैनिक खानेकुरा र कपडा लगाउने लगायतका विषयमा ध्यान नदिँदा स्थानीयवासी बिरामी हुने गरेका छन् । 

बालबालिका चिसो मौसममा राति परेको तुषारो बरफ भनेर खाँदा बढी बिरामी हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । वृद्धवृद्धाको चिसो खप्न नसक्दा मृत्यु हुने गरेको छ । अधिकांश गाउँले बिरामी हुनेबित्तिकै उपचारका लागि स्वास्थ्य संस्थाभन्दा धामीझाँक्रीकहाँ जाँदा अकालमै मृत्यु हुने गरेको छ । 

कहाँ कहाँ बढी बिरामी छन् त ? 

जुनीचाँदे गाउँपालिका–१ को जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाउँ, वडा नं २ का मजकोट, आलीमौगाना, वडा नं ३ का डाँडाकोट र परालेमा भाइरल प्रकोपका रुपमा देखापरेको स्वास्थ्यकर्मीले बताएका छन् । 

सबैभन्दा बढी वडा नं २ मजकोटमा बिरामी देखापरेका छन् । एउटै घरमा तीन–चारजना बिरामी परेको स्थानीय काशीराम न्यौपानेले बताउनुभयो । जुनीचाँदेका साथै छेडागाडका सुवानाउली र टीकाचौरमा पनि रुघाखोकीका बिरामी बढेका छन् । 

बिरामीमा घाँटी दुख्ने, सुख्खा खोकी, टाउको दुख्ने, हातखुट्टा दुख्ने, चिटचिट पसिना आउने, ज्वरो आउनेलगायतका समस्या देखिने गरेको छ । त्यस्तै, वारेकोट गाउँपालिकाको वडा नं ५ मा पनि भाइरल ज्वरोका कारण विद्यार्थी विद्यालय आउन नसकेको सरस्वती माविका प्रअ मनबहादुर सिंहले बताउनुभयो । 

विद्यार्थी विद्यालयमा नआउँदा परीक्षासमेत प्रभावित भएको छ । वारेकोट गाउँपालिकाको जिरी र नायकवाडामा बढी बिरामी भएको सिलिगीका स्वास्थ्यकर्मी डम्मर कार्कीले बताउनुभयो । 

भाइरलको प्रकोप फैलिएको सूचना पाएको एक दिनपछि ल्याब टेक्निसियन कृष्ण खत्रीको नेतृत्वमा स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा गएका छन् । “रोगको पहिचान गर्न टेक्निसियन पठाएका छौँ”, जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले भन्नुभयो, “एच १ एन १ हो कि भनेर टेष्ट किट पठाएका छौँ । यदि एच १ एन १ भए रोग फैलिने खतरा धेरै हुने भएकाले पहिचानका लागि समयमै सजग हुनुपर्छ ।” 

सँगै प्रभावित क्षेत्रमा थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट डा पवन शाक्यको नेतृत्वमा थप टोली परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले बताउनुभयो । 

संस्था जनताको पहुँचभन्दा टाढा 

भाइरल प्रभावित क्षेत्र स्वास्थ्य संस्था मजकोटभन्दा टाढा रहेका कारण उपचारमा समस्या भएको छ । बिरामीलाई स्वास्थ्य संस्था ल्याउन स्वास्थ्यकर्मीहरु गाउँसम्म पुग्न निकै टाढा भएका कारण समस्या भएको छ । सदरमुकामबाट टाढा भएका कारण तोकिएको समयमा औषधिसमेत लैजान समय लाग्ने गर्छ । 

रोग प्रभावित क्षेत्रमा छिटो उपचारको व्यवस्था मिलाई जनताको अकालमा ज्यान जानबाट जोगाउन पूर्व गृहमन्त्री तथा सांसद शक्तिबहादुर बस्नेतले आग्रह गर्नुभएको छ । 

सत्य तथ्य कुरा छिटो पत्ता लगाई उचित कदम चाल्न सरकारसँग उहाँले मागसमेत गर्नुभयो । यता प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले भने अवस्था नियन्त्रणमा आइसकेको बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य