पुस २५, काठमाडौं । बयानका लागि झण्डै ९ घण्टा सर्वोच्च अदालतमा राखिएका डा गोविन्द केसीलाई बेलुका साढे ५ बजे अदालतबाट बाहिर निकालिएको छ ।
बिहान पौने ९ बजे अदालत लगिएका डा केसीलाई बेलुका साढे ५ बजेको समयमा बाहिर निकालिएको हो । अगाअगाडि पछाडि प्रहरीको एस्कर्टिङ सहित प्रहरीको एम्बुलेन्समा राखेर डा केसीलाई वीर अस्पताल लगिएको हो ।
वीर अस्पतालमा स्वास्थ्य जाँच गरेर उनलाई महानगरीय प्रहरी बृत्त सिंहदरवार लगिने प्रहरी स्रोतले बतायो । केसीलाई बाहिर निकाल्दा रामशाह पथको सडक खाली गरिएको थियो ।
अनसन स्थलबाट सोमवार राती पक्राउ गरिएका डा केसीलाई गएराती पनि सिंहदरवार बृत्तमै राखिएको थियो । मंगलवार अदालतमा बयान लिएपछि बुधवार अदालतको अबहेलना मुद्दामा बहस हुनेछ ।
डा केसीलाई बुधवार बिहान पुनः अदालतमा ल्याउन सर्वोच्च प्रशासनले प्रहरी भनेको छ । भोलि २६ गते अदालतमा उपस्थित गराउनेगरी फिर्ता पठाइएको सर्वोच्च अदालतका शाखा अधिकृत शैलेन्द्र खडकाले महानगरिय प्रहरी परिसरलाई लेखिएको पत्रमा उल्लेख छ ।