कञ्चनपुरको स्थिति साम्य बनाउन सर्वदलीय छलफल

Posted on: 25 Aug, 2018

भदौ ९, भीमदत्तनगर | कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले स्थिति उग्र बनेपछि स्थानीय प्रशासनको पहलमा आज बिहान सर्वदलीय बैठक आह्वान गरिएको छ । 

बिहीबारदेखि आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा शुक्रबार एकको मृत्यु र दर्जनाँै प्रर्दशनकारी तथा प्रहरी घाइते भएपछि स्थिति संयमित बनाउन जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक आयोजना गरिएको हो । 

बैठकमा शान्तिपूर्ण वातावरण बनाएर निर्मला पन्त हत्याकाण्ड छानविन गर्ने लगायत अन्य सुरक्षाका विषयमा छलफल भइरहेको सुरक्षा समितिका एक सदस्यले बताउनुभएको छ । बैठकमा राजनीति दल, नागरिक समाज, विभिन्न सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि सहभागी छन् । 

आन्दोलनका कारण स्थिति जटिल बनेपछि प्रशासनले शुक्रबार राति ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा (कफ्र्यू) लगाइएको छ । आन्दोलनका कारण विगत पाँच दिनयता यहाँको बजार, यातायात, शिक्षण संस्थालगायत बन्द छन् । 

गृह मन्त्रालयले गठन गरेको छानविन समितिले पनि शुक्रबारबाट प्रारम्भिक चरणको अनुसनधान थालिसकेको छ भने जिल्लामा नयाँ आएका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र प्रहरी प्रमुख कुबेर कडायतले शान्तिपूर्ण वातावरण बनाएर बालिका हत्याको अनुसन्धान गर्ने वातावरण पहल गरिरहनुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!