कात्तिक १८,काठमाडौँ | नेपालमा पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ | पहाडी क्षेत्रमा उक्त प्रणालीको प्रभाव बुधबार बेलुकासम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ |
मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकामा बुधबारसम्म केही समय घाम लाग्ने र फेरि बदली हुने क्रम चलिरहने छ। हाल प्रदेश नं १, प्रदेश नं २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ |
मौसम पूर्वानुमान महाशाखाका अनुसार राति पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सफा रहने छ। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ र अधिकतम तापक्रम २७ दशमलव ७ डिग्री सेल्सियस रहेको छ |
त्यस्तै, आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ४ दशमलव ९ डिग्री र सबभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३५ दशमलव ४ डिग्री सेल्सियस छ |