Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पतिको निधनपछि सिन्दूर–पोतेसहित घाटबाट फर्केर काजकिरिया

By साझासवाल 5 मिनेट पढाइ

चन्द्रकला भण्डारी, मङ्सिर २१, झापा, (रासस) । झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहनुभएको छ ।

उहाँका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो । सत्र दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते भएपछि उहाँको मिर्गौलामा समस्या थपिएको थियो । बिएन्डसी र नोबेल हस्पिटलमा उपचार गर्दासमेत स्वास्थ्यमा सुधार नभएको उहाँको शनिबार निधन भएपछि स्थानीय देउनिया घाटमा दाहसंस्कार गरिएको थियो ।

दाहसंस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने प्रचलन छ तर रेनुकाले आफ्ना पतिबाट सौभाग्यको रूपमा पाएको सिन्दूर र पोते नफाल्ने बताउँदै सेतो लुगामा घर फर्किनुभयो । हाल निजी निवासमा पतिको किरिया बारिरहनुभएकी उहाँको यो निर्णयलाई परिवार, छरछिमेकी र देख्नेसुन्नेले साहसिक निर्णय भन्दै समर्थन जनाएका छन् ।

“यो मेरा पतिले सौभाग्यको रूपमा दिनुभएको हो”, पतिको निधनपछि पनि सिन्दूर र पोते लगाउनुको कारण बताउँदै उहाँ भन्नुहुन्छ, “उहाँ (पति)ले म मरेपछि तिमीले सिन्दूर नपुछ्नु र पोते नफुकाउनु भन्नुभएको थियो ।” रेनुकाका देवर तथा टेलिभिजन पत्रकार टीकाराम नेतीले दाजुको इच्छाबमोजिम भाउजूले सिन्दूर र पोते लगाइरहने निर्णय लिएकोमा परिवारको तर्फबाट असहमति नरहेको जानकारी दिनुभयो ।

वीरता जेसिजका पूर्वअध्यक्ष सजेश शिवाकोटीले रेनुका नेपालले समाज परिवर्तनका लागि साहसिक निर्णय लिएको र त्यसबाट युवा पुस्तालाई प्रेरणा मिलेको बताउनुभयो । “शुरु कसैले गर्नै पर्छ, सलाम र सम्मान छ भाउजू”, शिवाकोटीले सामाजिक सञ्जालमा लेख्नुभएको छ । “श्रीमान्ले दिए जति सबै उहाँको मृत्युपछि त्यागी नै हाल्ने हो भने सँगै जोडिने थर, नानी बालबच्चा आदि नि त्याग्दै हिँड्न सम्भव छैन, त्यसैले उहाँको साहसलाई मान्नैपर्दछ”, सामाजिक सञ्जालमा समर्थन जनाउँदै लोकु चापागार्इँले लेख्नुभएको छ ।

रेनुकाको साहसिक कार्यलाई सामाजिक सञ्जालमार्फत समर्थन र हौसला दिनेहरु बढिरहेका छन् । विराट सामुदायिक अध्ययन केन्द्र विर्तामोडका अध्यक्ष मोहन शिवाकोटीले १०० वर्षपछिको समाजको सोचलाई आजै परिवर्तन गरिदिएको भन्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ, “यो पनि याद गर्नुहोला, तपाईँको कुरा काट्नेहरु पनि समाजमा धेरै छन्, केही फरक पर्दैन किनकि तिनकै सन्तान कुनै दिन तपाईँको अनुयायी हुनेछन् ।” रेनुकाका पति स्व केशव नेपाल कुनै नेता तथा पदीय ओहोदामा रहेका व्यक्ति होइन । उहाँ विर्तामोडस्थित आफ्नै घरमा सानो पसल चलाउनुहुन्थ्यो । रेनुकासमेत सामान्य गृहिणी हुनुहुन्छ । स्व केशव नेपालका दुई छोरा र दुई छोरी छन् ।