११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उकालो लाग्यो कोरोनाको ग्राफ : छैन मापदण्ड पालना

२९ चैत्र २०७७, आईतवार १२:२६

नारायण ढुङ्गाना । चैत २९, काठमाडौँ । यही चैत २८ मा देशभर कूल तीन हजार ५३२ जनामा गरिएको परीक्षणमा ३३७ मा कोभिड–१९ सङ्क्रमण देखियो । अघिल्लो महिनाको सोही दिन (फागुन २८) मा दुई हजार ५०० को परीक्षण गराउँदा ४८ जना मात्रै सङ्क्रमित भेटिएका थए । एक महिनाको फरकमा सङ्क्रमणको ‘ग्राफ’ निकै माथि पुगेको उक्त दुई तथ्याङ्कले प्रष्टयाउँछ । त्यसमाथि अहिले देखिएकामध्ये धेरैमा नयाँ स्वरुपको भाइरस छ ।


यसपाली गत वर्ष जस्तो कोरोनाको त्रास कसैमा देखिएको छैन । शङ्कास्पद परीक्षणमा जान अनकनाउँछन् भने मास्क लगाउने, साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्नेलगायत मापदण्ड पालनामा खास जागर चलेको देखिँदैन । सडकमा राखिएका कतिपय हातधुने भाँडा प्रयोगविहीन देखिन्छन् ।

काठमाडौँको सुन्धारा, रत्नपार्कलगायत क्षेत्रमा आज मास्क नलगाएका व्यक्ति धेरै भेटिए । “कोरोनाले अब खास केही समस्या हुने देखिएन, त्यसैले मास्क लगाइएन”, नाम नबताउने एक जनाले भन्नुभयो । 

यो क्रम देशभरी नै छ । ठूलाठूला भीडभाड क्षेत्र, जात्रा, मेला, महोत्सव, राजनीतिक कार्यक्रम अहिले यत्रतत्र भइरहेका देखिन्छन् । तर, मन्दगतिमा सङ्क्रमण दर बढिरहेको ग्राफले भने आमसमुदायको ध्यान तान्न सकिरहेको छैन । सङ्क्रमणको ग्राफ बढिरहेको बताउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम भन्नुहुन्छ, “अघिल्लो महिनामा बढीमा दैनिक एक सय बिरामी हुन्थे, अहिले झण्डै दोब्बर थपिएर दैनिक तीन सयभन्दा माथि देखिनु जोखिमतर्फ उन्मुख हुनु हो ।” उहाँले अघिल्लो महिनामा सक्रिय सङ्क्रमित ९०० को हाराहारीमा रहेकोमा आज दुई हजार ७०० पुगेको जानकारी दिनुभयो । 

मन्त्रालयका अनुसार एक महिना अघिदेखि नै सङ्क्रमण बढ्न थालेको भए पनि पछिल्लो १०÷१२ दिनदेखि सङ्क्रमणको रफ्तार अलि तीव्र छ । “अब राम्ररी स्वास्थ्य मापदण्ड नअपनाउने हो भने सबै सेवा ठप्प पार्नुको विकल्प हुन्न”, डा गौतमले दाबीका साथ रासससँग भन्नुभयो ।

अघिल्ले वर्ष यही समयमा भारतमा अत्यधिक सङ्क्रमण भएको बेला नेपालमा न्यून थियो । जब भारतबाट नेपाली स्वदेश फर्किए त्यसपछि एक्कासी सङ्क्रमण दरको गति बढेको थियो । गत वर्ष चैतको अन्तिमबाट क्रमशः बढ्न थालेको सङ्क्रमणको गतिले वैशाख सकिँदा त्रास फैलाइसकेको थियो । 

यसपटक पनि विगतको पुनरावृत्ति हुने आशङ्का जनस्वास्थ्यविद्को छ । अहिले भारतमा दिन प्रतिदिन कोरोनाको सङ्क्रमण दर ह्वात्तै बढिरहेको छ । प्राप्त विवरणमा भारतमा पछिल्लो तथ्याङ्क हेर्दा एकै दिन एक लाख ५२ हजार सङ्क्रमित भेटिएका छन् । भारत–नेपाल खुला सिमानाका कारण त्यहाँबाट मानिस सजिलै नेपाल आउन सक्ने हुँदा विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । उनीहरुमा नयाँ भेरियन्टसहितको सङ्क्रमण देखिएकाले अझै चनाखो हुनुपर्ने मन्त्रालयको भनाइ छ । 

मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारी अहिले अवस्था सामान्य हुँदा पनि शङ्कास्पद व्यक्ति परीक्षणका लागि अस्पताल जान जागर देखाउन छाडेको जिकिर गर्नुहुन्छ । “शङ्कास्पद परीक्षणमा जानै पर्छ, क्वारेन्टिन बस्नैपर्छ, नभए अवस्था जटिल हुनसक्छ”, अधिकारीले भन्नुभयो, “अहिले ठूला शहर, नाका क्षेत्र, भारतबाट आउनेमा बढी सङ्क्रमण देखिएको छ”, डा अधिकारीले भन्नुभयो । प्राप्त विवरणअनुसार शनिबारसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ । तीन हजार ३९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । 

कोरोना बढ्न थालेपछि सरकारले विशेष सावधानी अपनाउन अपिल गरिसकेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को हालैको बैठकले कोभिड सङ्क्रमणको मात्रा बढेको र नयाँ स्वरूपको भाइरस देखिन थालेको भन्दै आवश्यक सतर्कता जरुरी रहेको निष्कर्ष निकालेको छ । केन्द्रले जिल्लाका कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई थप सक्रिय बनाउने, सीमा नाकामा रहेका स्वास्थ्य डेस्कलाई थप प्रभावकारी बनाउने, एन्टिजेन परीक्षण बढाइने, लक्षण देखापरेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राख्ने गरी काम अघि बढाउने निर्णय पनि गरेको छ । तर जुन गतिमा हुनुपर्ने स्वास्थ्य सुरक्षाका कार्यक्रम भने न्यून देखिन्छ ।

दोस्रो चरणको खोप वैशाख ७ बाट 

सरकारले अहिलेसम्म १८ लाख ३५ हजारलाई कोरोना विरुद्धको खोप लगाइसकेको छ । अहिले उपत्यकाका तीन जिल्ला तथा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा खोप कार्यक्रम जारी छ । 

मन्त्रालयबाट प्राप्त विवरणअनुसार नेपालमा अहिलेसम्म कूल ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको छ । सहप्रवक्ता डा अधिकारीले झण्डै १४ लाख मात्रा खोप स्टक रहेको र केही आउने क्रममा रहेको जानकारी दिनुभयो ।

आगामी वैशाख ७ गतेपछि भने शुरुआती चरणमा (माघ १४ गतेदेखि) खोप लगाएका व्यक्तिका लागि दोस्रो चरणको खोप लगाइने छ । पहिलो चरणमा माघ १४ बाट फागुन १० सम्म खोप लिएका दोस्रो चरणमा सहभागी हुनेछन् । त्यसबेला चार लाख ३९ हजारलाई खोप लगाइएको थियो । दोस्रो चराणको खोप उनीहरुलाई नै लगाइने छ । उनीहरु सबै कोरोना सङ्क्रमण रोकथामका लागि अग्रभावमा खटिएर काम गर्ने व्यक्ति हुन् ।

 जुन ठाउँबाट खोप लगाइएको थियो, कार्ड लिएर त्यही ठाउँमा गएर खोप लगाउन सरकारले अनुरोध गरेको छ । नेपाललाई शुरुमा भारतले १० लाख मात्रा कोभिसिल्ड खोप उपलब्ध गराएको थियो । त्यसपछि चीनले आठ लाख मात्रा भेरोसिल खोप दिएको थियो । कोभ्याक्स सुविधाबाट तीन लाख ४८ हजार मात्रा खोप आएको थियो । नेपाली सेनाले पनि एक लाख मात्रा ल्याएको छ । 

सरकारले प्रति मात्रा चार डलर तिरेर १० लाख मात्रा खोप ल्याइसकेको छ भने अब १० लाख मात्र ल्याउन बाँकी रहेको स्वास्थ्य सेवा विभाग खोप महाशाखा प्रमुख डा झलक गौतमले बताउनुभयो । सरकारले दोस्रो अभियानअन्तर्गत गएको फागुन २३ गतेबाट ६५ वर्षमाथिका व्यक्तिका लागि खोप अभियान चलाएको थियो । नेपालमा अहिले भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको ‘कोभिशिल्ड’ र चिनियाँ कम्पनी सिनोफार्मअन्तर्गत बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स कम्पनीले उत्पादन गरेको ‘भेरोसिल’ खोप मात्र प्रयोगमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ