चैत ३१, काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले यूएईबाट पक्राउ गरेको छ । तेह्रथुमको आठराई गाउँपालिका-४ तीनसल्ले घर भएका काजीमान पुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीमाथि ईन्टरपोलबाट रेड नोटिस जारी भएको थियो ।
कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका काजीमानलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नका लागि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा ईन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो ।
उनको खोजी गर्ने क्रममा ईन्टरपोल आवुदावी यूएईको समन्वयमा प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले उनलाई यूएईबाट पक्राउ गरेको हो । पक्राउ परेका पुरीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइएको प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले जनाएको छ ।