२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाग्द्वार मेलाका लागि हजारौँ भक्तजन वाग्मतीको उद्गमस्थलमा

२०७७, ३१ चैत्र मंगलवार १२:५३

चैत ३१, काठमाडौँ । विगत वर्षझै यस वर्ष हजारौँ भक्तजन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यभागमा रहेको वाग्मती नदीको उद्गम स्थल वाग्द्वार पुगेका छन् । प्रत्येक वर्ष नयाँ वर्षका अवसरमा वैशाख १ गते यहाँ मेला लाग्ने गर्छ ।

मेलाका लागि चैत मसान्तमा हजारौँ भक्तजन वाग्द्वारमै गएर बस्छन् । कति भक्तजनले रातभर बत्ती बालेर आराधना गर्छन् । रातभर बसेका भक्तजनले वैशाख १ गते बिहान स्नान, पूजा आराधना गरी फर्कने गरेको वाग्द्वार क्षेत्र सेवा समितिका अध्यक्ष अरुण ठकुरीले राससलाई जानकारी दिनुभयो । यहाँ लाग्ने मेलाका लागि गुठी संस्थानले पनि सहयोग गर्दै आएको छ । 

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गमस्थलमा पर्ने वाग्द्वारमा नयाँ वर्षका दिन स्नान गरी त्यस नजिकैको शिवलिङ्ग एवं शत रुद्रेश्वर महादेव मन्दिरमा पूजा गरेमा पाप पखालिई पुण्य कमाइने जन विश्वास छ । चैत मसान्तमा वाग्द्वार पुग्ने भक्तजनले नजिकैको शिवलिङ्ग एवं शत रुद्रेश्वर महादेव मन्दिरमा बत्ती बाल्ने गरेको समितिका अध्यक्ष ठकुरीले सुनाउनुभयो । 

बिहान वाग्द्वार स्नान गरी शिवलिङ्ग र शत रुद्रेश्वर महादेव मन्दिरमा पूजा गर्छन् । शिवपुरीको दर्शन गरेर विष्णुपादुकाको दर्शन, टोखा नगरपालिकास्थित सपनतीर्थ हुँदै भक्तपुरको बिस्केट जात्रा हेर्न जाने नियम रहेको समितिले जनाएको छ । यस वर्ष वाग्द्वारको स्नान मेलासँगै विष्णुपादुका, सपनतीर्थ एवं भक्तपुरको बिस्केट जात्रा पनि सञ्चालन हुने जनाइएको छ । गत वर्ष भने कोरोना महामारीका कारण जारी गरिएको बन्दाबन्दीका कारण सबै मेला स्थगित गरिएको थियो ।

यस क्षेत्रका दुवै नगरपालिकाको रु १०/१० लाख गरी रु २० लाखको लागतमा वाग्द्वारमा कुटीसहित शौचालय निर्माण गरिएको छ । यसले गर्दा यहाँ रात बस्ने गरी आउने भक्तजनलाई सहज भएको समितिले जनाएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले यहाँ निर्माण गरिएका शौचालय भत्किएपछि त्यपछिका वर्षमा पालको अस्थायी शौचालय निर्माण गरेर काम चलाइने गरेको थियो । 

मेलामा विशेष गरी उपत्यकाका साथै सिन्धुपाल्चोक र नुवाकोटका भक्तजनको पनि उल्लेख्य सहभागिता रहने गर्छ । वाग्द्वारबाट दुवै जिल्लाको सीमा नजिकै पर्छ । पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष वैशाखमा आयोजना गर्ने वाग्मती तीर्थ यात्राका यात्रु पनि एक रात वाग्द्वारमा बास बस्ने विधि छ ।

वाग्द्वार गोकर्णेश्वरको सुन्दरीजल र बूढानीलकण्ठको नारायणस्थान दुवैतिरबाट जान सकिन्छ । सुन्दरीजलबाट तीन घण्टा र नारायणस्थानबाट करिब दुई घण्टाको पैदल यात्रापछि वाग्द्वार पुग्न सकिन्छ । निकुञ्जभित्रको सौन्दर्यमा रमाउँदै रमणीय यात्रा गरी वाग्द्वार पुग्न सकिन्छ ।

विगत ३३ वर्षदेखि वाग्द्वारमा तपस्या गर्दै आउनुभएका टोड्के बाबा वैशाख १ गतेको मेलामा बस्तीबाट टाढा रहेपनि हजारौँ मानिस सहभागी हुने गरेको स्मरण गर्नुहुन्छ । यहाँ यसअघि शिवपुरी बाबा, स्वामी चन्द्रेश लगायतले पनि तपस्या गर्नुभएको थियो । 

देवादिदेव महादेवको पुर भएकाले शिवपुरी समेत भनिने यस स्थानलाई साधनाका लागि तपोभूमि मानिन्छ । यहाँ तपस्याका लागि विशेषगरी भारतका साधु आउने गरेका छन् । शिवपुरीबाट उत्पत्ति भई बग्ने वाग्मती समुद्रमा नपुगेसम्म अरु नदीमा नमिसिने र पहिचान नमेटाउने भएकाले यसको विशेष महत्व छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन