वैशाख ६, काठमाडौँ । स्रोत नखुलेको रकम सहित एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट प्रहरीले पक्राउ गरेको छ । आइतबार एति एयरलाइन्सको उडान मार्फत काठमाण्डौंबाट बिराटनगर जान लागेका एक यात्रुलाई २४ लाख ५० हजार रुपैंया सहित पक्राउ गरिएको हो ।
विमान स्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा नियमित चेकजाँचको क्रममा उनको साथबाट स्रोत नखुलेको उक्त रकम फेला पारेको प्रहरीले जनाएको छ ।
विमानस्थल प्रहरीका अनुसार उनलाई अनुसन्धान एवं कानूनी कारबाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाइएको छ ।