असोज २४, चितवन | भरतपुर महानगरपालिका–७ विकास चोकमा आइतबार पर्यटक बसको ठक्करबाट पैदल यात्री आठ वर्षीय बालकको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीय प्रदर्शनमा उत्रिए । स्थानीयले ठक्कर दिने कसरा टुर्स एण्ड ट्राभल्सको बा१प १२८४ नम्बरको बसमा ढुंगामुढा गरेर बसको सिसा फुटाएका छन् ।

बसको ठक्करबाट घाइते बालकलाई बस चालकले बसलाई पुनः पछाडि ल्याएर हत्या गरेको स्थानीयको आरोप छ । घटनास्थलमै मृत्यु भएको बालकको शव मुचुल्का विना लगेको भन्दै स्थानीयले बसमा तोडफोड गर्नुका साथै बसको हावा फुस्काउन खोजेका थिए ।

बसको हावा फुस्काउन नदिएपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । प्रहरीले बसलाई जिल्ला कार्यालय लैजान खोज्दै थियो । प्रदर्शनकारीले ठक्कर दिने बसलाई जिल्ला लैजान नदिएपछि साँझपख प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीलाई लखेट्न प्रहरीले दर्जनौँ सेल अश्रु ग्यास हानेको थियो । आवास क्षेत्रमा पनि अश्रुग्याँस हानेपछि घरमा बसेका स्थानीयले प्रहरीविरुद्ध नाराबाजी गरेका थिए ।

आइतबार दिउँसो साढे तीन बजेको समयमा चौविसकोठीबाट पटिहानी जाँदै गरेको उक्त बसले मामा घरकी हजुरआमा ४६ वर्षीय सूर्यकुमारी लामिछानेसँग पैदल हिँडिरहेका माडीका आठ वर्षीय बालक मिलन भण्डारीलाई ठक्कर दिएको थियो । स्थानीयले बताएअनुसार सुरुमा बालकको हातमात्रै भाँचिएको थियो । बस चालकले पुनः पछाडि ल्याएर बालकको हत्या गरेका हुन् ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए ।

October 10, 2021
काठमाडौँ - KTM, चितवन - CTW, समाज
चितवन दुर्घटना अपडेट: स्थानीय र प्रहरीबीच झडप, दर्जनौं सेल अश्रुग्यास प्रहार
By साझासवाल
3 मिनेट पढाइ