रुट परमिट नभएका सवारीसाधनलाई रोक

Posted on: 22 Aug, 2016

भदौ ६, पर्वत । रुट परमिट नभएका सडकमा ठुलो जनधनको क्षती हुने गरी सडक दुर्घटना हुन थालेपछि धौलागिरि अञ्चलमा समेत रुट परमिट नभएका सडकमा सवारी सञ्चालनमा रोक लगाइएको छ । 

सोमबार पर्वत जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लामा ठूलो सवारी दुर्घटना नहोस् भन्नेको लागि रुट परमिट नभएका सवारी साधनलाई रोक लगाइएको ट्राफिक प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए ।

‘रुट नभएका सबै सडकमा सार्वजनिक सवारी सञ्चालन भएको देखिए कारवाही हुने उनको तर्क छ । जिल्ला ट्राफिक कार्यालय पर्वतले जिल्लामा यतिबेला सवारी चेकजाँचमा कडाइ गरेको छ । 

पर्वतका ग्रामिण अधिकांश सडकहरु हिउँदको समयमा चल्ने र बर्खाको समयमा बन्द हुने गर्छन् । रुट परमिट नभएका सवारी साधनलाई रोक लगाएपछि ग्रामिण तथा दक्षिण भेगका सर्वसाधरणलाई भने पैदल गर्नुपर्ने बाध्यता सिर्जना हुने भएको छ । 

यता म्याग्दीमा पनि रुट परमिट नभएका सवारी साधनलाई रोक लगाइएको छ । आइतबार बेनीमा यातायात ब्यवसायीसंग भएको कार्यक्रममा रुट परमिट विना सोमबार देखी सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको म्याग्दी जीप तथा बस सञ्चालनक समितिका उपाध्यक्ष मोहन केसीले बताए । 

निर्णय संगै सडक सञ्जाल जोडिएका म्याग्दीका कुनै पनि सडकमा यातायातका साधन सञ्चालन हुने छैनन् । पश्चिम म्याग्दीको दरवाङ सहित जिल्लाभरको सडकमा यातायातका साधन सञ्चालन नहुदाँ सर्वसाधारले अर्को निर्णय नभएसम्म पैदलयात्रा गर्नुपर्ने भएको छ ।  उनका अनुसार बेनी जोमसोम सडकमा अस्थायी रुट परमित भएपनि जिल्लाका अन्य ग्रामिण सडकहरुमा नभएको बताए । 

काभ्रेमा भएको सडक दुर्घटना पछि गृह मन्त्रालयले देशभरका प्रशासनलाई रुट परमिट नभएका सडकमा सार्वजनिक यातायात रोक्न निर्देशन दिएपछि  उक्त निर्णय भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!