२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमतीको लहलहैमा लागेर बुद्धिबहादुरले यसरि हत्या गरे आफ्नै आमाको

२०७३, १० भाद्र शुक्रबार ०५:४०

हेमन्त केसी/भदौ १०, जाजरकोट । जग्गा नामसारी गर्न नमानेको कारण सक्ला–१, लैखमका बुद्धिबहादुर खत्रीले साउन २२ गते बञ्चरोले हानेर आफ्नै आमाको हत्या गरे । 

हत्या गर्नु दुई दिनअघि घर नजिकैको बारीमा खाल्डो खनेर दुई दिनपछि आमाको हत्या गरी लास गाडेको प्रहरीले जनाएको छ । सम्पत्तिको लोभमा बुद्धिबहादुरले ६५ वर्षीया आमा देउमतीको हत्या गरेको प्रहरीले भनाइ छ । बुद्धिबहादुरका बाबुको मृत्युपछि आमाको नाममा रहेको जग्गा आफ्नो नाममा गर्न नमानेको भन्दै छोराले निर्ममतापूर्वक हत्या गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । 

लैखम साँघुतरा नलसिंहगाड जलविद्युत् आयोजना निर्माण गर्दा प्रभावित हुने भएकाले त्यहाँका नागरिकलाई आयोजनाले मुआब्जा दिने भएपछि आमाबाट बुद्धिबहादुरले आफ्नो नाममा जग्गा नामसारी गर्न आमालाई दबाव दिँदै आएका थिए । आमाले नमानेपछि जाजरकोट सदरमुकाम जाँदा बाटोमै भिरबाट खसालेर मार्ने योजनासमेत रहेको बुद्धिबहादुरले स्वीकार गरेका छन् । 

हत्या कसरी गरे ? 

गत साउन २२ गते राति सुतिरहेको अवस्थामा बञ्चरोले प्रहार गरी देउमतीको हत्या गरेको बुद्धिले प्रहरीसमक्ष बयान दिएका छन् । हत्या गर्नु दुई दिनअघि नै श्रीमतीलाई खाल्डो खन्दा कसैले नदेखून् भनी आवतजावत गर्ने मानिसको निगरानी गर्न लगाएका थिए । खाल्डो खनी तयार भएको दुई दिनपछि अर्थात् साउन २२ गते बुद्धिबहादुरले म सेपुखोला जान्छु मेरो उतै राति बसाइ हुन्छ, छोराछोरी डराउँछन्, सासूबुहारी सँगै सुत्नुहोला भनी सल्लाह गरेर हिँडेका थिए । 

तर बुद्धिबहादुर राति फर्केर आफ्नो छुट्टै कोठामा सुते । सुतेका श्रीमान्लाई उनकी श्रीमतीले तीनपटक सम्म उठाउने प्रयास गरिन् तर बुद्धिबहादुर नउठेपछि अन्तिम पटक ओढेको कपडा निकालेर बुद्धिबहादुरलाई आफू र सासू सुतेको ठाउँमा ल्याएको बयानका क्रममा बुद्धिले बताएको निमित्त प्रहरी प्रमुख हिक्मत बोहराले बताउनुभयो । 

बुद्धिले साउन २३ गते आमा हराएको भनी गाउँमा हल्ला गरेका थिए । उनले प्रहरी चौकी सेपुखोलामा गएको भदौ २ गते आमा हराएको भन्दै खोजी गरिदिन हुलिया सहितको निवेदन दिएका थिए । तर बुद्धिको व्यवहार अस्वाभाविक र शङ्कास्पद देखिएपछि प्रहरीले निगरानीमा राखेको थियो । 

घटनास्थल लैखम विद्युत् आयोजनाको बाँध निर्माणस्थलसँगै जोडिएको गाउँ हो । आयोजनाले यसअघि विद्युत्गृह निर्माणस्थल खगेनकोट–१, दल्लीमा सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसकेको छ । पछिल्लो समय आयोजनाले सक्ला–१ लैखम, सक्ला–२ सेपुखोला, सक्ला–९ काप्तीका प्रभावित नागरिकलाई मुआब्जा दिने निर्णय गरेको छ । 

केही समयमै निवेदन सङ्कलन गरी मुआब्जा दिइने आयोजना विकास समितिले जनाएको छ । आयोजनाले प्रतिरोपनी चार लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा दिने गरेको छ । बुद्धिकी आमा देउमतीको नाममा लैखममा एक रोपनी पाँच धुर जग्गा रहेको प्रहरीको भनाइ छ । 

बुहारीले दबाब दिएकी रहिछन् 

आफ्नो जेठाजुको छोरालाई समेत अंश लाग्ने सासूको नाममा रहेको जग्गा आफ्नो नाममा गराउन बुद्धिकी पत्नी शर्मिलाले पटक पटक दबाब दिने गरेकी थिइन् । देउमतीका श्रीमानको केही वर्षअघि मृत्यु भएपछि जग्गा देउमतीको नाममा नामसारी गरिएको थियो । जग्गा शर्मिलाका नाममा गर्न देउमती राजी नभएपछि हत्या योजना बुनिएको खुलेको छ । 

देउमतीका जेठा छोरा र बुहारीको समेत मृत्यु भइसकेको छ । जेठा छोरातर्फका नाति कामका लागि भारतमा रहेको र नातिनी कोहलपुरमा बसेर पढिरहेकी छिन् । देउमतीका नाममा रहेको जग्गा शर्मिलाका नाममा गराउन यसअघि कोसिस गरिएको थियो । तर मालपोत कार्यालयले अंशियार अरू पनि भएको अवस्थामा उनीहरुको सहमतीबिना नामसारी गर्न नमिल्ने बताएपछि बुद्धिका दम्पती रित्तै फर्किएका थिए । 

घरमा गइसकेपछि पनि शर्मिलाले जग्गा जसरी पनि आफ्नो नाममा गराउन दबाब दिइरहेको प्रहरीले बताएको छ । “पटक पटक कि जग्गा आफ्नो नाममा गर्न कि त आमालाई नै मार्न दबाब दिएको देखिएको छ”, घटनास्थल पुगेर फर्किएका प्रहरी निरीक्षक सुवास भट्टले भन्नुभयो, “नत्र छोडेर जाने धम्कीसहित बुद्धिलाई मानसिक रुपमा टर्चर दिने गरेको देखिन्छ । अन्त्यमा श्रीमान् श्रीमतीकै योजनामा हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।” 

प्रहरीले यसरी निकाल्यो लास 

खाडलमा पुरिएको लासलाई प्रहरी निरीक्षक भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले गत शनिबार मात्र उत्खनन गरेको थियो । लास सडिसकेको अवस्थामा भेटिएको भट्टले बताउनुभयो । लास अन्यत्र लान सक्ने अवस्थामा नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र दल्लीका चिकित्सकलाई लैखम बोलाएर शवपरीक्षण गरिएको प्रहरी निरीक्षक भट्टले बताउनुभयो । 

हत्या अभियोगमा बुद्धिबहादुर र उनकी श्रीमती शर्मिलालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला अदालत जाजरकोटले उनीहरुलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न आदेश दिएको छ । 

दुवै लोग्नेस्वास्नीलाई आजीवन कारावासको सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेको निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक बोहराले बताउनुभयो । अबको १५ दिनभित्र हत्याको सबै अनुसन्धान प्रक्रिया सकिने प्रहरी प्रमूखको भनाइ छ । 

आमाबाबु जेलपरेपछि छोराछोरीको बिचल्ली 

लोग्नेस्वास्नी नै हत्या अभियोगमा पक्राउ परेपछि उनीहरुका छोराछोरीको बिचल्ली भएको छ । डेढ वर्षको छोरा शर्मिलाको साथमै छ भने ९ र ४ वर्षीया दुई छोरी र ७ वर्षीय छोरा हेरिदिने घरमा कोही नहुँदा बिचल्ली भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर