११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जो आमालाई मारेर मस्त सुते

१४ चैत्र २०७८, सोमबार ०५:३७

चैत १४, काठमाडौं । झमक्क रात परिसकेको थियो । चरिमाया बलामी घर आइनन् । करिब दुई किलोमिटर दूरीमा रहेको गोठमा गएकी थिइन् । अरुबेला छिट्टै आउँथिइन् । तर, २८ फागुनमा आइनन् । उनको घर नुवाकोटको ककनी नगरपालिका–१, नयाँवस्ती हो । 

पर्खिँदा पनि आमा नआएपछि श्रीराम बलामी आत्तिए । उनी चरिमायाका छोरा हुन् । चरिमायाका कान्छा छोरा चाहिँ भीमबहादुर बलामी हुन् । उनी पनि घरमा देखिएनन् । रात छिप्पिँदै गयो । न घरमा आमा आउँछिन् न भीमबहादुर नै । 

अघिल्लो दिन २७ फागुनमा भीमबहादुरसँग श्रीरामको झगडा पनि परेको थियो । कुटाकुट हुँदा भीमबहादुरको अनुहारमा चोट लागेको थियो । 

२८ गते बिहानैदेखि उनी घरमा थिइन् । तर, साँझ गोठ गएकी आमा नआएपछि श्रीरामले प्रशान्त बलामीकहाँ पुगे र भने ‘यति राति भइसक्यो । आमा आउनुभएन र खोज्न जाऔँ ।’

कतै लडिइन् कि भनेर उनीहरू सिधै गोठतिर खोज्न गए । गोठ सिमेन्ट र इँटाले बनेको दुई तले छ । माथिल्लो तलामा एउटा खाट छ । श्रीराम र प्रशान्तले त्यही खाटमा सुतिरहेका देखे–भीमबहादुरलाई । जो श्रीरामसँगै अघिल्लो रात झगडापछि घरमा थिएनन् । र, श्रीरामले सोधे, ‘आमा देख्यो ?’ 

भीमबहादुरले जवाफ दिए, ‘मलाई थाहा छैन । मलाई मेरो घरको कोही पनि चाहिँदैन ।’ 

भीमबहादुरको जवाफले श्रीरामको मनमा चिसो पस्यो । झरे गोठको तल्लो तलामा । त्यहाँ अस्वाभाविक घाँस, पराल र पत्करको थुप्रो देखे । 

राम्ररी हेर्दा त खुट्टा पो देखे । पत्कर पन्छाएर हेर्दा आमा चरिमाया देखिइन्, मृत अवस्थामा । श्रीरामका अनुसार त्यसबेला आमाको टाउको, नाक र कानदेखि रगत बगिरहेको थियो । 

लगत्तै प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीमा खबर गरे । दुवै प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल आइपुगे । र, भीमबहादुरलाई नियन्त्रणमा लिए । शवको प्रकृति मुचुल्का तयार गरे । परीक्षण गर्न शव सदरमुकाम विदुर ल्याए ।

परीक्षण प्रतिवेदनले टाउकोमा गम्भीर चोट पर्दा मृत्यु हुन पुगेको उल्लेख गर्‍यो । अर्कोतिर, भीमबहादुरले घटनाको संलग्नता स्वीकारेका थिए । 

जिल्ला सरकारी वकिल कार्यालय नुवाकोटले प्रहरीले अनुसन्धानपछि तयार गरेको प्रतिवेदनअनुसार आइतबार जिल्ला अदालतमा उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अभियोजन गरेको छ । 

वकिल कार्यालयले तयार गरेको अभियोग पत्रमा उल्लेखित भीमबहादुरको बयानअनुसार २८ फागुनको राति ८÷९ बजेतिर आमा चरिमाया गोठमा गाई÷भैंसीलाई घाँस काट्न आएको देखे । 

आमालाई भने, ‘मलाई भोक लाग्यो । २/३ दिन भइसक्यो खाना नखा’को ।

भीमबहादुर खाली झगडा गर्ने र कहिलेकाहीँ पैसा माग्दा नदिए कुटपिट पनि गर्ने हुनाले आमा चरिमायाले भनिन्, ‘खान मन लागे पकाएर खा, मन नलागे नखा, तँ मेरो घरमा बस्नुपर्दैन । घरबाट निस्केर जा ।’

यसपछि सम्झाइबुझाइ गर्दा झन गाली गरेको र झापड पनि हानेकीले कोदालो टिपेर टाउको र अनुहारमा हानेर आमा चरिमायालाई हत्या गरेको बयान भीमबहादुरको छ । 

प्रहरीका अनुसार अनुसन्धानको क्रममा भीमबहादुर जहिल्यै मातेर आमा चरिमायालाई पैसा माग्ने गरेको खुलेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा