साउन ६, काठमाडौँ | देशको तीन विभिन्न स्थानमा काठमाडौं, कास्की र बाजुरामा तीन जनाको शव फेला परेको छ ।
काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–३ बुढानीलकण्ठ मन्दिर नजिकै सडक पेटीमा ३७ वर्षीय सम्राट नगरकोटी बिहीबार मृत अवस्थामा फेला परेका छन् । उनी सोही मन्दिर परिसरमा विगत केही महिना अगाडिदेखि बस्दै आएका थिए ।
त्यसैगरी कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जास्थित मानव सेवा आश्रममा ५२ वर्षीय राम बहादुर गुरुङ बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२ बालुवास्थित कर्णाली नदीको किनारमा हाल पहिचान नखुलेका पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
तीनवटै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।