साउन २३, काठमाडौँ | मकवानपुरको हेटौंडामा पाँच वटा सवारीसाधन ठोक्किएका छन्।
सोमबार बिहान ९:०५ बजे हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। राजमार्गमा स्कुल बस, ट्रक, ट्यांकर, कार र लरी दुर्घटनामा परेको हो।
दुर्घटना हुँदा विद्यार्थीहरूसहित १५ जना घाइते छन्। उनीहरूको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। उनीहरू सबैको अवस्था सामान्य नै रहेको कार्कीले बताए। कार्कीका अनुसार सुरूमा ना १ क ५१२३ रिलायन्स स्कुलको बसलाई पछाडिबाट ना ५ ख ६२५४ नम्बरको ट्रकले ठक्कर दिएको थियो। फेरि सोही ट्रकले गएर लु १ क ७३७० नम्बरको ट्यांकरलाई ठक्कर दिएको थियो। त्यस ट्यांकरले बा ७ च ९६०४ नम्बरको कारलाई ठक्कर दिएको थियो।
त्यस्तै ट्रकले फेरि गएर सडकमा रोकिराखेको प्रदेश २-०३-००१-ख २५०६ नम्बरको लरीलाई ठक्कर दिएको हो। ‘बस र ट्रक हेटौंडातर्फ आउँदै थियो। ट्यांकर विपरीत दिशामा जाँदै थियो,’ कार्कीले भने, ‘त्यही बेला दुर्घटना भएको हो। धेरै ठूलो क्षति भएको छैन। सामान्य नै छ।’घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।