भदौ ७, काठमाडौँ | फुटपाथ व्यापारीले व्यापार गर्न नपाएपछि काठमाडौँ महानगरपालिकाको कार्यालयमा नाराबाजी गरेका छन् । काठमाडौं महानगरपालिकाले केही समयता बानेश्वर लगायतका क्षेत्रका फुटपाथमा व्यापार बन्द गराएको छ ।

महानगरले फुटपाथ व्यवस्थापन गर्न साना व्यवसायीलाई हटाएकाले फुटपाथमा व्यवसाय गर्ने व्यवसायीले महानगरपालिकामा नाराबाजी गरेका हुन् ।
उनीहरुले मेयर बालेनलाई भेटेर ज्ञापन पत्र बुझाउन खोजेपनि वास्ता नगरेको भन्दै नाराबाजी गरेका हुन् । उनीहरुले हामी बाँच्न पाउने अधिकार सुनिश्चित गर, रोजगारीको ग्यारेन्टी गर, फुटपाथ व्यवसायीको व्यवस्थापन गर, गाँसबासको ग्यारेन्टी गर, श्रमको सम्मान गर, नगर प्रहरीको अत्याचार बन्द गर, विना विकल्प धोका दिन पाइदैन जस्ता नारा लगाएका छन् ।

स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको नाममा ज्ञापन पत्र बुझाउन गएका उनीहरुले ३ बुँदे माग एक हप्ताभित्र पूरा नगरे अझै चर्को आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सडक किनारमा स्वरोजगार गरिरहेका श्रमिकको अभिलेखीकरण गरी परिचयपत्र दिनुपर्ने, सडक स्वरोजगार श्रमिकलाई मापदण्ड बनाई व्यवस्थापन गर्नुपर्ने, प्रशासनको तर्फबाट भइरहेको अमानवीय व्यवहार बन्द गरी यसअघि सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ ।
