असोज ५, लमजुङ । जिल्लाको पूर्वी भागमा रहेको पिजेदी खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ ।
खोला तर्ने क्रममा गौडा–१ का ५० वर्षिय सुखे गुरुङ र पाचोक–५ का १३ वर्षिय सुजन गुरुङलाई बगाएको हो । वर्षापछि बढेको खोला तर्ने क्रममा मङ्गलवार साँझ दुई जनालाई नै एकसाथ खोलाले बगाएको थियो । उनीहरुको मृत शरीर करिव एकसय ५० मिटर तल फेला पारिएको थियो ।
मङ्गलबार अपरान्हदेखि भारी वर्षाका कारण खोला बढेको थियो । ठाडो खहरे खोलामा बाढी आएको र आवतजावतका लागि पुल नहुँदा बगाएको स्थानीय बासिन्दाले बताएका छन् । गुरुङ द्वय आफन्त रहेको थाहा भएको छ ।
घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक समिरचन्द्र खरेलले घटनास्थलबाट शव निकालिएको र परीक्षणका लागि सदरमुकाम ल्याइँदै गरेको जानकारी दिए । रासस