Skip to content
Friday, July 17, 2026 Nepali Online Media

एनपीएलका लागि अहिलेसम्म अनुबन्ध भए १८ विदेशी खेलाडी, कुन टिममा जोडिए कुन विदेशी खेलाडी?

By साझासवाल 13 मिनेट पढाइ

पढ्न करिब 6 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेपाललाई क्रिकेटमय बनाउन आगामी मंसिर १५ देखि पुस ६ सम्म नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० फ्रेन्चाइज प्रतियोगिता आयोजना हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित यस लिगमा देशभरका ८ टोलीको सहभागिता रहनेछ। सहभागी टोलीहरूले विभिन्न विदेशी खेलाडी अनुबन्ध गर्दै लिगको तयारीलाई तिब्रता दिएका छन्।

क्यानले हरेक टोलीलाई ४ देखि ६ जना विदेशी खेलाडी अनुबन्ध गर्न अनुमति दिएको छ, जसमा ४ जना टेस्ट राष्ट्रका खेलाडी मात्र सहभागी गराउन पाउने नियम छ। यस लिगमा विभिन्न देशका खेलाडीले नेपालमा खेलेर अनुभव साट्ने अवसर पाउनेछन्। पोखरा एभेन्जर्स, विराटनगर किंग्स, लुम्बिनी लायन्स, कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, र काठमाडौं गुर्खाज टोलीले विदेशी खेलाडीहरूको चयन गरिसकेका छन्।

कुन टिममा जोडिए कुन बिदेशी खेलाडी?

विराटनगर किंग्स
मार्की खेलाडी सन्दीप लामिछाने रहेको यो टिमले ओमानका कप्तान अकिब इलियास र क्यानडाका निकोलस किर्तनलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ। यसले केभिन ओब्रायनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

अकिबले ओमानको तर्फबाट ३२ एकदिवसीय र ५६ टी–२० खेलमा खेलिसकेका छन् । निकोलस किर्तनले क्यानडाका लागि १८ ओडीआई र २५ टी २० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा उनले दुई अर्धशतकसहित ५६४ रन बनाएका छन् ।

कर्णाली याक्स
ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको यस टिमको मार्की खेलाडी सोमपाल कामी हुन्। कर्णाली याक्सले पाकिस्तानका हुसेन तलात र हङकङका बाबर हायातलाई विदेशी खेलाडीका रूपमा ल्याएको छ।
२८ वर्षिय हुसेन तलातले पाकिस्तानबाट १८ टी–२० आई खेलेका छन् । जसमा ३९४ रन बनाएका छन् । उनले सन् २०१९ मा वेष्ट इन्डिजविरुद्ध खेल्दै टी-२० आईमा डेब्यू गरेका थिए ।
बाबरले हङकङको लागि ७९ टी २० आई खेलमा एक हजार ९ सय १० रन बनाएका छन् । उनको स्ट्राइक रेट १३२.२७ छ । हङकङका लागि उनले दुई शतक र १० अर्धशतक बनाएका छन् । उनले सन् २०२४ मै नेपालविरुद्ध नै एक सय १० रन बनाएका थिए ।

लुम्बिनी लायन्स
मुख्य प्रशिक्षक नन्दन फड्निस र मार्की खेलाडी रोहितकुमार पौडेल रहेका लुम्बिनीले टम मुर्स र अष्ट्रेलियाका बेन कटिङलाई अनुबन्ध गरेको छ।
लेफ्ट ह्याण्डेड विकेटकिपर ब्याट्सम्यान मुर्सले कुल १४७ टी–२० खेल खेलेका छन् । उनले बीपीएल, एलपीएल, र पीएसएलजस्ता चर्चित टी–२० फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

अष्ट्रेलियाका बेन कटिङले अष्ट्रेलियाका लागि ४ एकदिवसीय र ७ टी–२० आई खेलेका छन् । सन् २०११–१२ मा न्यूजिल्याण्डविरुद्धको टेस्ट टोलीमा छनोट हुने मौका पाएपनि खेल्न भने पाएनन् । सोही वर्ष उनले श्रीलंकाविरुद्धको एकदिवसीय र टी–२० सिरिजमा अष्ट्रेलियाका लागि डेब्यू गरेका थिए ।

पोखरा एभेन्जर्स
कुशल भुर्तेलको नेतृत्वमा रहेको यो टोलीले वेस्ट इण्डिजका एन्डरसन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डी लिडेलाई अनुबन्ध गरिसकेको छ।
ट्रिनिडाडका २८ वर्षीय क्रिकेटर फिलिपले वेस्ट इण्डिज टिमबाट थुप्रै अन्तर्राष्ट्रिय खेल खेलेका छन् । फास्ट बलर फिलिपले १ सय ४० किलोमिटर प्रतिघण्टाको औसत गतिमा बलिङ गर्न सक्छन् ।

अमेरिकाका विकेटकिपर तथा ब्याटर ३० वर्षीय आन्द्रेस गौसले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा पाँच सय ९८ रन बनाएका छन् । तीन एकदिवसीय खेल्दा एक सय ५२ रन बनाएका छन् । सन् २०२४ मा अमेरिकाको तर्फबाट क्यानडाविरुद्धको खेलमा उनले डेब्यू गरेका थिए ।
२४ वर्षीय लिडे नेदरल्यान्ड्सका हुन् । उनले ३८ टी-२० आई खेलेका छन् । जसमा ६९७ रन बनाएका छन् ।

सुदूरपश्चिम रोयल्स
दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले स्कटल्याण्डका ब्राण्डन म्याकमुलन, इङ्ल्यान्डका सेफ अलि जेब र न्युजिल्याण्डका स्कट कुगेलेइनलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।
स्कटल्याण्डका ब्राण्डन म्याकमुलनलाई सबै फर्म्याटका खेलमा विष्फोटक ब्याटिङ र तीव्र गतिको बलिङका लागि चिनिन्छन् ।
उनीसँग विश्वकप क्रिकेट लिग–२ को दौरान नेपालमा खेलेको अनुभव पनि छ । स्कटल्याण्डका लागि उनले २२ एकदिवसीय खेल र १६ टी-२० आई खेलेका छन् ।

इङ्ल्यान्डका सेफ अलि जेबले सन् २०१५ मा १६ वर्षको उमेरमा पहिलो श्रेणी क्रिकेटमा डेब्यू गरेपछि इङ्ग्ल्यान्डका लागि उमेर समूह क्रिकेट पनि खेलेका थिए । टी-२० करिअरमा १ सय ४० भन्दा माथिको स्ट्राइक रेटमा १२ सय रन जोडेका उनले पार्ट टाइम बलिङ गर्दै ३३ को औसतमा १२ विकेट लिएका थिए ।
न्युजिल्याण्डका स्कट कुगेलेइनले टि २० क्रिकेटमा २६ को औसतले १ सय ६८ विकेट लिनुका साथै ब्याटिङतर्फ १ सय ३४ को स्ट्राइक रेटले १ हजार २२ रन उनको नाममा छ । यसबाहेक प्रथम श्रेणी क्रिकेटमा उनले २७ को औसतमा रन जोड्दै ४ शतक र १८ अर्धशतक प्रहार गरेका छन् ।

चितवन राइनोज
प्रशिक्षक उमेश पट्वाल र मार्की खेलाडी कुशल मल्ल रहेको यस टिमले दक्षिण अफ्रिकाका मर्रस्यंट डी ल्यांग र इङ्ल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाईनलाई समावेश गरेको छ।
दक्षिण अफ्रिकाका मर्रस्यंट डी ल्यांगले १५१ टी–२० खेल खेलेका छन् । उनीसँग ग्ल्यामोर्गन, समरसेट र ग्लुसेस्‍टरसायरजस्ता टोलीबाट काउन्टी क्रिकेट खेलेको अनुभव छ ।
जनवरीमा भएको यु–१९ विश्वकपमा १९ वर्षीया बेनकेन्स्टाईनले इङ्ल्यान्डको उपकप्तानको जिम्मेवारी सम्हालेका थिए । ब्याटिङ र बलिङ दुवैमा निपुण बेनकेन्स्टाईनले १७ वर्षको उमेरमा एसेक्सबाट काउन्टी क्रिकेटमा ६–४२ को कीर्तिमान राखेका थिए ।

त्यस्तै, सन् २०२२ मा ग्वादर शार्क्सलाई पाकिस्तान सुपर लिग पीएसएलको फाइनलमा पुर्‍याउन उनले ३७ बलमा ७१ रनको योगदान दिएका थिए ।

त्यसैगरी मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, इस्लामावाद युनाइटेड, गुयाना अमेजन वारियर्स, ट्रेन्ट रकेट्स, डम्बुला गेन्ट्सलगायत विश्वस्तरिय फ्रेन्चाइज टोलीमा समेत उनले प्रतिनिधित्व गरिसकेका छन् ।

जनकपुर बोल्ट्स
आशिफ शेख मार्की खेलाडी रहेका जनकपुर बोल्ट्सले न्युजिल्याण्डका जिम्मी निसम र अमेरिकाका जोशुआ ट्रोम्पलाई अनुबन्ध गरेको छ।
निसमले न्युजिल्याण्डका लागि ७९ टी-२० आई, ७६ ओडीआई र १२ टेस्ट खेलेका छन् । उनले इन्डियन प्रिमियर लिगलगायत विभिन्न फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

दक्षिण अफ्रिकामा जन्मेका १९ वर्षीय ट्रोम्प अलराउण्डर हुन् । अहिले अमेरिकाबाट खेल्ने ट्रोम्पलाई दायाँ हाते ब्याटर र दायाँ हाते मेडियम पेस बलरको रुपमा चिनिन्छ । उनले अमेरिकाको मेजर क्रिकेट लिगमा टेक्सास सुपर किंग्सबाट पनि खेलिसकेका छन् ।

काठमाडौं गुर्खाज
करण केसीको नेतृत्वमा रहेको काठमाडौं गुर्खाजले नेदरल्यान्ड्सका माइकल लेभिट र नामिबियाका कप्तान जेर्राड इरासमसलाई अनुबन्ध गरेको छ।
२१ वर्षीय युवा ब्याटर लेभिटले नेदरल्याण्ड्सका लागि ८ ओडीआई र १७ टी-२० आई खेल खेलिसकेका छन् । गत फेब्रूअरीमा कीर्तिपुरमा नेपालविरूद्धको टी-२०आई बाट लेभिटले डेब्यू गरेका थिए ।
इरासमसले नामिबियाबाट ५२ एकदिवसीय अन्तर्राष्ट्रिय र ६५ टी २० अन्तर्राष्ट्रिय खेलेका छन् । उनले ब्याटिङ र बलिङमार्फत टोलीलाई योगदान पुर्याउन सक्दछन् ।

यस नेपाल प्रिमियर लिगले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ, जसमा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरूले प्रदर्शन गर्दै नेपाली दर्शकलाई रोमाञ्चित तुल्याउनेछन्। (पत्रपत्रिकाको सहयोगमा)