काठमाडौँ | युगाण्डामा जारी वुमन्स डे कप टी-२०आई प्रतियोगिताको आफ्नो चौथो खेलमा नेपालले नामिबियासँग खेलिरहेको छ ।
एन्टेबेमा जारी खेलमा नेपालले चुनौतीपूर्ण लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनायो ।
यो प्रतियोगितामा बनेको अहिलेसम्मको सर्वाधिक योगफल हो । नामिबियाका लागि यास्मीन खानले सर्वाधिक ४५ रन बनाइन् । विल्का मातिलेले २० तथा अरास्ता डिगार्टले अविजित १६ रन बनाइन् ।
नेपालका लागि ईश्वरी विष्टले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिइन् । रचनाकुमारी चौधरीले ४ ओभरमा ९ रन दिएर २ विकेट लिइन् । रिया शर्मा र कप्तान इन्दु बर्माले १-१ विकेट लिए ।
नेपाल पहिलो खेलमा नामिबियासँगै पराजित भएको थियो भने दोस्रो खेलमा युगाण्डलाई हराउँदा तेस्रो खेलमा हङकङसँग पराजित भएको थियो ।