
काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल)को जारी तेस्रो सिजनअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ। टस जितेर जनकपुरले चितवन राइनोजलाई फिल्डिङको निम्तो दिएको हो। आजको खेलमा जनकपुरले एक परिवर्तन गरेको छ । जनकपुरले लगातार असफल हुँदै आएका अनिल साहको स्थानमा सन्तोष कार्की टोलीमा राखेको छ। त्यस्तै चितवनले पनि एक परिवर्तन गरेको छ । डान मोस्लीको स्थानमा डाविड मलान टिममा फर्किएका छन् । आज जनकपुरलाई जित्नैपर्ने दबाब छ । पराजित भएमा जनकपुर बाहिरिनेछ । जितेमा पनि अन्य टोलीको नतिजामा समेत भर पर्नुपर्ने छ ।
हाल जनकपुर ६ खेलमा ४ अंकका साथ छैटौं स्थानमा छ । ४ अंक भएको अर्को टोली कर्णाली याक्स हो जसले चितवनसँगै खेल्न बाँकी छ । ५ खेलमा ५ अंक रहेको चितवनले आजपछि कर्णालीसँग पनि खेल्न बाँकी रहेकाले ९ अंकसम्म पुग्ने अवस्थामा छ । आजको खेलमा चितवन विजयी भएमा कर्णाली याक्स पनि एक खेल अगावै बाहिरिनेछ । उक्त अवस्थामा चितवन, काठमान्डु र विराटनगरमध्ये दुई टोली प्लेअफमा पुग्ने समीकरण बन्नेछ । पोखरा एभेन्जर्स यसअघि नै बाहिरिसकेको छ भने लुम्बिनी र सुदुरपश्चिम प्लेअफमा पुगिसकेका छन् ।