कात्तिक १३, काठमाडौं | टी-२० विश्वकप क्रिकेटमा शुक्रबार अफगानिस्तान पाकिस्तानसँग पराजित भएपछि तालिवानले प्रतिक्रिया दिएको छ। तालिवानले खेलाडीहरू अझ दृढताका साथ मैदानमा खेल्नु पर्ने प्रतिक्रिया दिएको हो।
अफगानिस्तान पराजित भएपछि आफू अचम्ममा परेको तालिवानका नेता अनस हक्कानीले प्रतिक्रिया दिए । उनले पराजयले खेलाडीहरूलाई मैदानमा अझ बलियो रूपमा लड्न साहस दिएको बताए। हक्कानी नेटवर्कका संस्थापक जलालुद्दीन हक्कानीका छोरा अनास हक्कानीले खेलपछि सामाजिक सञ्जालमा आफ्नो टोलीलाई प्रोत्साहन गरेका थिए।
मिर्जा अजीम बेगको एउटा कवितालाई उद्धृत गर्दै उनले लेखेका छन्, ‘मैदानमा युद्ध एक योद्धा मात्रै लड्छन्। घुँडा टेकेर हिड्ने बच्चालाई के था ?’
گرتے ہیں شہسوار ہی میدان جنگ میں
وہ طفل کیا گرے گا جو گھٹنوں کے بل چلے#افغانستان
— Anas Haqqani(انس حقاني) (@AnasHaqqani313) October 29, 2021
अनस हक्कानी सामाजिक सञ्जालमा निकै लोकप्रिय छन् र अफगानिस्तान क्रिकेट टोलीका धेरै ठूला खेलाडीहरूले उनलाई फलो गर्छन् । उनको यो ट्विटलाई समाचार तयार पार्दासम्म करिब १४ हजार लाइक प्राप्त भएको छ।
हक्कानी नेटवर्क तालिवानको सहयोगी हो। यस नेटवर्कमा आतंकवादी गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ। तालिवानले यसै वर्ष १५ अगस्टमा अफगानिस्तान कब्जा गरेको थियो। तालिबानले खेलको विरोध गर्दै आएको छ। तर, अब विस्तारै उनीहरुको मनोवृत्ति परिवर्तन हुँदै गएको छ।
यूएईमा पाकिस्तानको शानदार बलिङका अगाडि अफगानिस्तानले पावरप्लेमा चार विकेट गुमाएको थियो। तर, कप्तान मोहम्मद नाबी र गुलबदिन नाइबबीच सातौं विकेटका लागि ४५ बलमा ७१ रनको अविजित साझेदारी भयो।
र, अफगानिस्तानको स्कोर छ विकेटमा १४७ रन पुगेको थियो। अफगानिस्तानले १८औं ओभरमा इनिङ्सको सर्वाधिक २१ रन जोड्यो। यसमा नाइबले एक छक्का र दुई चौका प्रहार गरे। नाइब (२५ बलमा चार चौका र एक छक्का) र नाबी (३२ बलमा पाँच चौका) दुवैले अविजित ३५/३५ रन बनाए।
यी दुईको बलमा अफगानिस्तानले अन्तिम तीन ओभरमा ४३ रन जोड्यो। यस्तै, जिबुल्लाह जद्रानले २२, करिम जन्नतले १५ तथा रहमानउल्लाह गुरबाज र असगर अफगानले १०/१० रन बनाए। बलिङमा इमाद वासिमले दुई, शादाब खान, हसन अली, हरिस रौफ र शाहीन शाह अफ्रिदीले एकएक विकेट लिए।
अफगानिस्तानले दिएको एक सय ४८ रनको लक्ष्य पाकिस्तानले १९ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो। उसका लागि आसिफ अलीले आक्रामक पारी खेले । उनले सात बलमा चार छक्कासहित अविजित २५ रन बनाए। आसिफले अन्तिम ओभरमा चार छक्का हिर्काउँदै टिमलाई जित दिलाए।
त्यस्तै, कप्तान बाबर आजमले ५१, फखर जमानले ३०, शोयब मलिकले १९, मोहम्मद अफीजले १० र मोहम्मद रिजवानले आठ रनको योगदान दिए। बलिङमा राशिद खानले दुई, मुजिबउर रहमान, नवीन–उल–हक र मोहम्मद नाबीले एक/एक विकेट लिए।
अंक तालिकामा अफगानिस्तानको टोली अझै दोस्रो स्थानमा छ। अफगानिस्तानले एक खेलमा जित र एकमा हार व्यहोरेको छ । अफगानिस्तानले अझै तीन खेल खेल्न बाँकी छ। अर्थात् सेमिफाइनल पुग्ने आशा जीवितै छ।