काठमाडौँ। राजावादी समूहले तीनकुनेमा प्रदर्शन तथा जुलस गर्दा भएको लुटपाट र आगजनीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाउने तयारी भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहोराका अनुसार प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटसँग सम्बन्धित अनुसन्धान करिब सकिएको र त्यसलाई अन्तिम रूप दिने तयारी भइरहेको छ ।
बोहोराले भने, ‘अनुसन्धान सकियो, यसलाई अन्तिम रूप दिने त प्रहरीले आज साँझसम्म अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गर्ने तयारी गरेको छ । घटनामा ६१ जनालाई प्रतिवादी बनाउने तयारी छ ।
उनीहरूविरुद्ध आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, संगठित अपराध कसुर, ज्यान मार्ने र ज्यान मार्ने उद्योगअन्तर्गतका चार कसुर लगाउने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, संगठित अपराध कसुर, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग गरी चार वटा कसुर लगाउने तय भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले गत १५ चैतदेखि नै घटनाको अनुसन्धान गर्दै आएको छ । घटनामा हालसम्म १७० भन्दा धेरै पक्राउ परेका थिए । जसमध्ये ५३ अभियुक्त प्रहरी हिरासतमै छन् ।
राजावादीहरूले चैत १५ पछि आउँदो जेठ १५ गते प्रदर्शनको तयारी गरिरहेका छन् । शान्तिपूर्ण प्रदर्शन भनेकोमा राजवादीको आन्दोलन हिंसात्मक बनेको थियो । चैत १५ गते राजावादीहरूले काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनलाई प्राथमिकतामा राखेर सरकारले अनुसन्धान गर्ने जनाएको छ । राजावादीहरूको त्यो प्रदर्शनबारे सत्तापक्ष र विपक्षीले विपरीत धारणा राखेका छन् ।
सत्ता पक्षीय सांसदहरूले तीनकुने घटना घटाउनेलाई कानुनी कठघरामा उभ्याइनुपर्ने बताएका थिए । लोकतान्त्रिक पक्षधरले राजावादीहरूले गत चैत १५ गते हिंसात्मक घटना घटाएर देशलाई अराजकता निम्त्याउन गरेको प्रयासलाई निस्तेज पार्न खुट्टा नकमाउन आग्रह गरेका थिए ।