काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा भूपू गृहमन्त्री रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको जिकिर गर्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ अन्तिम चरणमा पुगेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा आज तेस्रो दिनको सुनुवाइ चलिरहेको छ । मंगलबारदेखि लगातार सुनुवाइ भैरहेको यो मुद्दामा अस्ति सरकारी वकिल र रविका कानुन व्यवसायीले बहस गरेका थिए । हिजो पनि रविका तर्फबाट बरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिरक्षा गरे ।
हिजो सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । आज शुरुमै जाहेरकर्ताका तर्फबाट बहस हुनेछ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले रविलाई जेलमा राख्नुपर्ने तर्क गर्दै वकालत गर्नेछन् । त्यसपछि वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले रविको पक्षमा प्रतिरक्षा गर्नेछन् ।
यो मुद्दामा आजै आदेश आउने सम्भवना छ । रविका तर्फबाट उनकी पत्नी निकिता पौडेलले दिएको बन्दी प्रत्यक्षीकरणको रिट र रवि स्वयम्ले उच्च अदालतको थुनछेक आदेशविरुद्ध गरेको पुनरावेदनलाई एकै ठाउँ राखेर बहस भइरहेको हो । रिटकर्ताको मागदावी बमोजिम अदालतले आदेश गरे सुप्रिम सहकारी घोटालामा दोषी ठहर भइ भैरहवा कारागारमा कैद सजाय काटिरहेका रवि छुट्ने छन् । तर, अदालतले उच्चको आदेश सदर गरे उनको जेल यात्रा थप लम्बिने छ ।