काठमाडौँ । गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी विद्यार्थी संगठनको प्रदर्शन, तत्काल राजीनामा दिएर छानबिनको लागि मार्ग प्रशस्त गर्न आग्रह ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताको आरोप लगाउँदै विपक्षी दलनिकट विद्यार्थी संगठनहरूले सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। संयुक्त रूपमा आयोजित प्रदर्शनमा सहभागी विद्यार्थीहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै सडकमा आक्रोश व्यक्त गरेका हुन्।
प्रदर्शनकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा भिजिट भिसाको नाममा खाडी मुलुक र युरोप जाने नेपालीहरूमाथि दैनिक रूपमा उठाइएको अवैध रकममा गृहमन्त्रीको संलग्नता रहेको दाबी गरेका छन्।
उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयमा छापा मारेपछि नियन्त्रणमा लिएका सहसचिव तीर्थराज भट्टराईको बयानलाई प्रमाणका रूपमा प्रस्तुत गर्दै गृहमन्त्री लेखकलाई भिजिट भिसा मार्फत दैनिक ५० लाख रुपैयाँ बुझाउने गरिएको खुलासा भएको बताएका छन्।
विद्यार्थी संगठनहरूको भनाइमा, यस्तो प्रकारको कार्यमा देशकै गृहमन्त्रीको संलग्नता हुनु केवल भ्रष्टाचार होइन, मानव बेचबिखन र देशद्रोह सरह हो। उनीहरूले तत्काल गृहमन्त्री लेखक र संलग्न अन्य कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन्।
प्रदर्शनकारीहरूले ओली नेतृत्वको वर्तमान सरकारमाथि गम्भीर आरोप लगाउँदै, दोषीमाथि कारबाही गर्नुभन्दा उनीहरूलाई संरक्षण गरेको आरोप पनि लगाएका छन्।