काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले नागरिकको समस्या बुझ्न माओवादी केन्द्र जनताको माझमा पुगेको बताउनुभएको छ ।
आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उहाँले जनताकै समस्या बुझ्नका लागि पार्टीले विभिन्न कार्यक्रम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको समस्या बुझ्नका लागि पार्टीले विभिन्न कार्यक्रम गर्दै आएको छ ।” अन्य दलहरुसँगको कार्यगत एकता एवं एकीकरण गर्ने क्रममा अघि बढेको उहाँले जानकारी दिनुभयो ।
फरक प्रसङ्गमा उहाँले पूर्वप्रधानमन्त्रीलाई अख्तियारले गरेको अनुसन्धानलाई प्रतिशोधको आरोप लगाउनुभयो । उहाँले मन्त्रिपरिषद्ले गरेको निर्णयलाई नीतिगत निर्णय भन्ने गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनप्रतिनिधिलाई जनता र राष्ट्रप्रति उत्तररदायी बनाउने कुरा राम्रो हो, तर त्यसलाई गलत प्रयोग गर्दा प्रतिशोध हुन्छ ।”
सरकारले भिजिट भिसाको विषयमा आयोग बनाएर छानबिन गर्नुपर्ने उहाँले बताउनुभयो । संसद्मा प्रश्न उठिसकेपछि राज्यले त्यसलाई अध्ययन गर्नका लागि आयोग बनाएर छानबिन गर्नुपर्छ भन्दै उहाँले माओवादी केन्द्रले अहिले आयोगको माग गरेको बताउनुभयो ।
–––