१० असार २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजेटले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न कठिन हुने

२५ जेष्ठ २०८२, शनिबार १७:०५
काठमाडौँ | आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न कठिन हुने धारणा अर्थतन्त्रका जानकारहरूले व्यक्त गरेका छन् ।
नेपाल बुद्धिजीवि सङ्गठन काठमाडौँ जिल्ला समितिले आज यहाँ आयोजना गरेको ‘बजेट २०८२/८३ समीक्षा र कार्यान्वयन’ विषयक अन्तरक्रियामा वक्ताहरुले असहज अवस्थामा प्रस्तुत  बजेटले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न कठिन हुने टिप्पणी गरेका हुन् ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा रमेश पौडेलले दुई ठूला दल मिलेर बनेको दुई तिहाइको सरकारले ल्याएको बजेटबाट अर्थतन्त्र सुधारको ठूलो गुञ्जायस नदेखिएको बताउनुभयो । “प्राविधिक रुपबाट हेर्दा आगामी आवको बजेट धेरै विवादित देखिँदैन, तर यो सरकारले बजेटमार्फत नीतिगत फड्को ९पोलिसी डिपार्चर० गर्ने मौका गुमाएको छ”, उहाँले भन्नुभयो, “अहिले सरकार र बजेटप्रति मान्छेको विश्वास घटेको बेला त्यो विश्वास बढाउने गरी बजेट आउन पर्ने थियो । गर्न सकिने काम मात्र बजेटमा राख्ने हो भने नागरिकको विश्वास आफै बढ्थ्यो ।”
राजस्वतर्फ पनि सरकारले प्रगतिशील कर नीति अबलम्बन गर्न नसकेको डा पौडेलको भनाइ छ । आगामी आर्थिक वर्षको बजेटमार्फत गैरकरको हिस्सा बढाउन सक्नुपर्नेमा त्यसो हुन नसकेको, आयकर लाग्ने आम्दानीको रकम नबढेको, पुँजीगत लाभकरको दर बढ्न नसकेको जस्ता विषय उहाँले उठाउनुभयो ।
सरकारले लिएको कर नीतिले धनाढ्य वर्गलाई फाइदा पुग्ने तर मध्यम वर्गीय सहरिया वर्गलाई बढी कर तिर्नुपर्ने स्थिती रहने डा पौडेलको भनाइ छ । अहिले अनौपचारिक अर्थतन्त्रको हिस्सा निकै ठूलो रहेकामा त्यसलाई औपचारिक प्रणालीमा ल्याउन तथा राजस्व चुहावट नियन्त्रण गर्नका लागि सरकारले कुनै स्पष्ट योजना ल्याउन नसकेको आरोप पनि पौडेलको छ ।
अर्थविद् प्राडा सूर्य थापाले रोजगारी सिर्जना र गरिबी निवारण गर्ने भनेर बजेटका प्राथमिकतामा राखिएको भएपनि त्यसलाई समर्थन गर्नेगरी योजना आउन नसकेको बताउनुभयो । यद्यपि आगामी आर्थिक वर्षको बजेटको आकार, आर्थिक वृद्धिदर र मुद्रास्फीतिको लक्ष्य धेरै महत्वाकाङ्क्षी नभई वास्तविकतामा आधारित जस्तो देखिएको उहाँको भनाइ छ ।
“सरकारले राम्रोसँग काम गर्न सक्ने हो भने रू १९ खर्ब ६४ अर्बको बजेट कार्यान्वयन गर्न सकिन्छ र ६ प्रतिशतको आर्थिक वृद्धिदर तथा साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्रको मुद्रास्फीति कायम गर्न सकिन्छ”, उहाँले भन्नुभयो । बजेटमा जलविद्युत् आयोजनामा ‘टेक एन्ड पे’ ल्याइनु राम्रो नभएको थापाको भनाइ छ ।
योजना आयोगका पूर्वसदस्य डा चन्द्रकान्त पौडेलले यथास्थितिवादी बजेट आएको र विद्यमान समस्या समाधानका लागि कुनै स्पष्ट कार्ययोजना आउन नसकेको बताउनुभयो । “सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ठूलो पनि छैन र वास्तविक पनि छैन । तोकिएको राजस्व लक्ष्य उठाउन सक्ने गरी कुनै आधार बजेटमा देखिँदैन र पुँजीगत खर्च बढाउने कुनै स्पष्ट कार्ययोजना पनि आएका छैनन”, उहाँले भन्नुभयो ।
दोस्रो चरणको आर्थिक सुधार तत्काल थालिनुपर्ने आवश्यकता पनि उहाँले औंल्याउनुभयो । अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि वित्त नीति र मौद्रिक नीतिबीचको सामन्जस्यता कायम गर्न आवश्यक रहेको धारणा पनि पौडेलले राख्नुभयो । मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्न नसक्ने हो भने मुलुकको अर्थतन्त्रमा ठूलो समस्या आउने उहाँको भनाइ छ ।
डा नरविक्रम थापाले आगामी आवको बजेट यथास्थितिवादी रहेको उल्लेख गर्दै यसले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न नसक्ने बताउनुभयो ।  “बजेटमा  ठूलो परिवर्तन छैन, करका दरमा खासै ठूलो परिवर्तन छैन । अर्थतन्त्रमा सुधारका क्षेत्र के हुन् भनेर स्पष्ट पहिचान गर्न सकिएको छैन । यस अर्थमा बजेट यथास्थितिवादी छ”, उहाँले भन्नुभयो ।
बजेटको स्रोतमा देखिएको चाप र कार्यान्वयनमा देखिएको न्यून प्रभावकारिता प्रमुख समस्या रहेको उहाँको भनाइ छ । त्यस्तै, आयातमुखी राजस्व र वितरणमुखी अर्थप्रणालीलाई बदल्नका लागि बजेटमार्फत कुनै ठोस पहल नचालिएको थापाले बताउनुभयो ।
हाल कार्यान्वयनमा रहेको १६औँ आवधिक योजनाको मर्मअनुसार बजेट आउन नसकेको, छरिएका योजना र कार्यक्रममा बजेट हालिएको, चालू खर्च घटाउन नसकिएकोलगायत विषय उहाँले उठाउनुभयो । त्यस्तै, घुमाउरो तरिकाले सांसद विकास कोष बजेटमा राखिएको आरोप उहाँले लगाउनुभयो  । सरकारले आगामी आर्थिक वर्षका लागि राखेको आय र व्यय दुवैको अनुमान यथार्थपरक नरहेको थापाको बुझाइ छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले,कांग्रेस र माओवादी बाट २० फिट पर नै बस्नु भन्ने खालको जनताबाट सन्देश छ : रास्वपा उपसभापति वाग्ले इजरायल र इरानद्वारा युद्धविराम स्वीकार ‘भिजिट भिसा’ प्रकरण सम्बन्धमा छानबिन गर्न समिति गठन, प्रतिपक्षी दुई दलको असहमति ‘भिजिट भिसा’ प्रकरण सम्बन्धमा छानबिन गर्न समिति गठन, प्रतिपक्षी दुई दलको असहमति रक्तदान महोत्सवले धान्यो गर्मी मौसमको रगत अभाव विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले घरेलुु श्रमिकलाई न्यूनतम ज्याला दिन कानुन बनाउँछौँः अधयक्ष दाहाल एसिसी यु–१६ क्रिकेटः नेपाल लगातार विजयी इरान–इजरायल युद्ध : पछिल्लो घटनाक्रम एमाले सचिवालय बैठक बुधबार प्रतिनिधिसभा बैठक सञ्चालन: रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध ९ वटा कार्यादेशसहित भिजिट भिसा प्रकरणबारे छानबिन गर्न समिति गठन कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पुष्टि अमेरिकाद्वारा युद्धबिराम पछि इजरायल माथि इरानको मिसाइल प्रहार, तीनजनाको मृत्यु ताप्लेजुङका पाँच स्थानीय तहद्वारा बजेट सार्वजनिक सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी भिजिट भिसा प्रकरणबारे सरकारले बनाएको छानबिन समितिमाथि रास्वपाको सदनमै धारणा राख्ने तयारी सुनको मूल्य घट्यो पहिराले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या