काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले सदनमा देखिएको गतिरोध अन्त्य गर्न विभिन्न दलका नेताहरूसँग छलफल गरिराखेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै संसदमा प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गर्दै आएपछि कांग्रेसले प्रतिपक्षी दलहरूसँग संवाद गर्दै आएको छ।
कांग्रेसका नेताहरूले आज राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल गरेका छन्। उक्त छलफलमा रास्वपाले भिजिट भिसा प्रकरणमा जाँचबुझ आयोग वा संसदीय समिति गठन गरेर जानुपर्ने विषय राखेकोमा कांग्रेसले अस्वीकार गरेको छ।
रास्वपा प्रमुख सचेतक सन्तोष परियारका अनुसार रास्वपाले जाँबुझ आयोग वा संसदीय समिति गठन गर्नुपर्ने कुरा राखे पनि त्यसमा कांग्रेस तयार देखिएन। कांग्रेसले यस विषय अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हेरिराखेको भन्दै जाँचबुझ आयोग वा संसदीय समिति गठन गर्न नसकिने बताएको छ।
रास्वपासँग छलफलपछि कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सँग छलफल अघि बढाएको छ। सदनको गतिरोध अन्त्य गर्न कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक श्यामकुमार घिमिरेले पहल गर्दै दलहरूसँग संवाद गरिरहेका छन्। यसबीच कांग्रेसले सदनको अवरोध खुलाउन गरेको छलफलहरूमा सहभागी नगराएकोमा एमाले असन्तुष्ट छ।
एमालेका एक नेताका अनुसार कांग्रेस-माओवादी र रास्वपाबीच मात्रै छलफल केन्द्रित भएको देखिन्छ। ‘उहाँहरू बसेर मिलाए भइगो, हामी किन चाहियो, कुनै छलफलमा हामीलाई राखेको अवस्था पनि छैन,’ ती नेताले भने।
एमाले पनि भिजिट भिसा प्रकरणमा कुनै पनि समिति गठन गर्ने पक्षमा छैन। प्रतिनिधि सभा बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइए पनि दलहरूबीच समझदारी नबनेकोले अहिलेसम्म बैठक चल्न सकेको छैन।
सभामुख देवराज घिमिरेले सोमबार दिउँसो २ बजेदेखि संसद बैठक बस्ने आशा रहेको बताएका थिए।