काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विपद् आउनुअघि तयारीमा ध्यान नदिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित ‘नेपालमा विपद् अवस्था र पूर्वतयारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विपद् नआउँदासम्म तयारीमा कम ध्यान दिने र विपद् आएपछि अपर्याप्त तयारीका कारण नागरिकले ठुलो क्षति बेहोर्नुपर्ने अवस्था रहेको उल्लेख गरे । उनले अपर्याप्त तयारीकै कारण विपद्बाट हुने क्षति बढेको भन्दै यस्तो अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए । आवश्यक ऐन, कानुन, प्राविधिक स्रोत, सामग्री र सञ्चारको पूर्वतयारी सबै क्षेत्रमा गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष दाहालले विपद् र यसबाट हुने क्षतिको गाम्भीर्य र संवेदनशीलतालाई आत्मसात् गर्दै युद्धस्तरमा तयारी गर्न सबैलाई अपिल र निर्देशन दिए ।