काठमाडौँ |नेकपा एमालेका सचिव योगेश भट्टराईले मन्त्रीहरू संसदप्रति जिम्मेवार नभएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एकै पटक १० वटा मन्त्रालयमाथि छलफल गर्नुपर्ने अवस्था आउनु मन्त्रीहरूको संसदप्रतिको गैरजिम्मेवारी भएको टिप्पणी गरे।
सचिव भट्टराईले संसद चलिरहेको बेला र विनियोजन शीर्षकमाथि छलफल भइरहेको समयमा मन्त्रीहरू अनुपस्थित हुनुभन्दा महत्त्वपूर्ण अर्को के काम हुन सक्छ भनी प्रश्न गरे। “आज यो १० वटा मन्त्रालय कसरी पुग्यो? एकै पटक १० वटा मन्त्रालयको छलफल गरेर हामी कसरी एउटा कन्स्ट्रक्टिभ ढंगले संसदमा भूमिका खेल्न सक्छौँ? एउटा यो गम्भीर प्रश्न हो,” उनले भने, “१० वटा किन पुग्यो भने हिजो केही मन्त्रीजीहरू आउनु भएन। अस्ति केही मन्त्रीजीहरू आउनु भएन। अनि थपिँदै थपिँदै जाँदा १० वटा पुग्यो।”
उनले मन्त्रीहरूलाई संसदमा उपस्थित भएर गम्भीरताका साथ भाग लिनुपर्नेमा जोड दिए।
भट्टराईले संविधानले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही र मन्त्रीहरूलाई प्रधानमन्त्री तथा संसदप्रति जवाफदेही बनाएको स्मरण गराए। उनले यदि मन्त्रीहरू संसदमा उपस्थित नहुने र आफूले प्रस्तुत गरेका विधेयकहरूमा गम्भीरताका साथ भाग नलिने हो भने विधायिकी काममा कसरी सक्रिय हुने भन्दै प्रश्न गरे।
“यो निकै गम्भीर प्रश्न हो। संविधानले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही भन्छ। मन्त्रीहरूलाई प्रधानमन्त्री र संसदप्रति जवाफदेही भन्छ,” उनले थपे, “जब हामी संसदमा उपस्थित भएर गम्भीरताका साथ भाग लिँदैनौँ, आफूले प्रस्तुत गरेका विधेयकहरूमा गम्भीरताका साथ अन्यत्र भाग लिँदैनौँ भने गर्छौं के?”
भट्टराईले मन्त्रीहरू समयमा उपस्थित नभएका कारण आजको बैठक एक घण्टा ढिलो सुरु भएकोमा पनि असन्तुष्टि व्यक्त गर्दै विधेयकहरूमा गम्भीरताका साथ भाग लिन मन्त्रीहरूलाई सुझाव दिए।