
काठमाडौँ | लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। जोखिम बढेपछि प्रशासनले धेरै जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ भने पर्वतारोहण तथा पदयात्रा पनि स्थगित गरिएको छ। नदी तटीय क्षेत्रका बासिन्दा र किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
पहिरो र वर्षाजन्य जोखिमका कारण पृथ्वी राजमार्ग तथा नारायणगढ-मुग्लिन सडकखण्ड अर्को सूचना नभएसम्म पूर्ण रूपमा बन्द गरिएको छ। कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फका तीन स्थानमा पहिरो खसेपछि हेटौँडा जोड्ने यातायात प्रभावित भएको छ। बिपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालयले असोज १२ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यात्रामा रोक लगाएको छ।
यस्तै कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको राक्सेमा पहिरो खस्नुका साथै पाती खोलामा जलसतह बढेपछि रुद्रबेणी-पूर्तिघाट सडक बन्द भएको छ। सडक अवरुद्ध हुँदा यात्रु बीचबाटोमै रोकिएका छन्। खोटाङ मा मध्यपहाडी लोकमार्गको चखेवाभञ्ज्याङ-जयरामघाट खण्डमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाइएको छ। निरन्तर वर्षाका कारण जिल्लाका सबै शैक्षिक संस्थामा पनि बिदा दिइएको छ। रोल्पामा मदन भण्डारी राजमार्गमा २४सै घण्टा सवारी सञ्चालन प्रभावित भएको छ भने अन्य मुख्य तथा सहायक सडकमा साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म सवारी चलाउन प्रतिबन्ध लगाइएको छ।
रुकुम पूर्वमा पनि मुख्य राजमार्ग र भित्री सडकमा रातिको समयमा सवारी सञ्चालन रोकिएको छ। प्रतिकूल मौसमको पूर्वसूचना पाएपछि धवलागिरि हिमालको आधार शिविर पुगेका ३० जना पर्वतारोहीले आरोहण स्थगित गरी इटली आधार शिविरतर्फ फर्किएका छन्। अन्नपूर्ण क्षेत्रमा मौरिस हर्जोग पदमार्ग बन्द गरिएको छ। आधार शिविर भ्रमणमा रहेका पर्यटकहरूलाई सुरक्षित स्थानतर्फ फर्काइएको छ। कृषि विभागले पाक्न लागेको धान र मकै जोगाउन खेतबाट पानीको निकास गर्न तथा भित्र्याइएको अन्न सुरक्षित स्थानमा राख्न किसानहरूलाई आग्रह गरेको छ। झापा, कञ्चनपुर र दाङमा महाकाली, मेची, कनकाई र बबईलगायत नदी किनारका बस्तीमा सशस्त्र प्रहरी र स्थानीय प्रशासनले माइकिङमार्फत बाढी तथा डुबानको जोखिमबारे सचेत गराउने अभियान तीव्र पारेका छन्। बागलुङमा कालीगण्डकी नदी किनारका बागलुङ र जैमिनी नगरपालिकाका करिब १४० घरपरिवार बाढीपहिरोको उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
प्रशासनले निरन्तर वर्षा भइरहेका क्षेत्रमा अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न, नदी तथा खोला किनारमा नजान र मौसम तथा सडक अवस्थाबारे सम्बन्धित निकायको सूचना पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।