
काठमाडौँ | नेपाली महावाणिज्यदूतावास, दुबईले नयाँ बनेर आएको राहदानी (पासपोर्ट) इमिरेट्स पोष्टमार्फत सम्बन्धित आवेदककै ठेगानामा डेलिभरी गर्ने व्यवस्था गरेको छ । महावाणिज्यदूतावासले शुक्रबार सूचना जारी गर्दै राहदानी लिनकै लागि कार्यालयमा आउन छुट्टी नमिल्ने, समय र यात्रा खर्च हुने भन्दै सेवाग्राहीबाट हुलाकमार्फत राहदानी डेलिभरीको व्यवस्था गर्न अनुरोध हुँदै आएकाले यस्तो व्यवस्था गरिएको जनाएको हो ।
अब महावाणिज्यदूतावासबाट राहदानी आवेदन दिने व्यक्तिले बायोमेट्रिक दिने समयमा नै डेलिभरी फाराम भरेर बुझाउनुपर्नेछ । राहदानी बनेर आएपछि डेलिभरीका लागि इमिरेट्स पोष्टलाई दिइनेछ ।
डेलिभरीको समयमा सम्बन्धित सेवाग्राहीले इमिरेट्स पोष्टलाई डेलिभरी शुल्क १५ दिराम तथा भ्याटसहित १५.७५ दिराम बुझाउनुपर्नेछ । महावाणिज्यदूतावासका अनुसार यो सेवा स्वैच्छिक हो । राहदानी घरमै डेलिभरी आवश्यक पर्ने सेवाग्राहीले मात्रै उक्त सेवा उपयोग गर्न सक्नेछन् ।