
काठमाडौँ | प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्र संघको ८१ औँ महासभामा सहभागी भएर अमेरिकाबाट स्वदेश फर्किएका छन्।
गत असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका प्रधानमन्त्री शाहले नेपाली समय अनुसार असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरेका थिए। त्यसलगत्तै उनले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गरेका थिए।
भ्रमणका क्रममा न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत समारोहमा सहभागी भएका प्रधानमन्त्री शाह न्युयोर्कबाट दोहा हुँदै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेर अघि अवतरण गरेका हुन्। भ्रमणबारे परराष्ट्र मन्त्रालयले प्रेस ब्रिफिङ गर्दैछ।