
काठमाडौँ | नेपाली कांग्रेसको १५ औँ महाधिवेशन असोज १८ गतेदेखि हुने भएको छ । यसअघि असोज १६ देखि हुने भनिएकामा बाढी र वर्षाका कारण दुई दिन ढिला गरी असोज १८ गते आइतबारदेखि हुने पार्टीले जनाएको छ । महाधिवेशन अन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेको कांग्रेसले जनाएको छ ।
विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको भन्दै केन्द्रीय कार्यालयले यस परिस्थितिलाई मध्यनजर गरी १५ औँ महाधिवेशन उद्घाटन समारोह दुई दिन पछाडि सारिएको जनाएको हो ।
सो अनुसार अब असोज १८ गते आइतबार दिउँसो २ बजे उद्घाटन समारोह काठमाडौँको खुलामञ्चमा हुने कांग्रेसले विज्ञप्ति जारी जनाएको हो ।