
काठमाडौँ | सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै अघि बढाइने जनाएको छ । बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयसम्बन्धी प्रश्नोतरमा प्रधानमन्त्रीका तर्फबाट जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समावेशिता, योग्यता, राष्ट्रिय जीवनमा पुर्याएको योगदान र राष्ट्रिय सभाको गरिमालाई ध्यानमा राखी उपयुक्त व्यक्तिको सिफारिस यथाशीघ्र गरिने बताएकी हुन् ।
हाल राष्ट्रिय सभामा २ वटा सदस्य पद रिक्त रहेका छन् । जसमध्ये १ पद नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने र अर्को १ पद निर्वाचित सदस्यतर्फ रहेको छ । विगतको राजनीतिक तथा सरकार परिवर्तनको सङ्क्रमणकालीन अवस्थाका कारण मनोनीत सदस्यको निर्णय समयमै हुन नसकेको उनले बताइन् ।
त्यस्तै उनले निर्वाचित सदस्यको रिक्त पदका लागि पनि निर्वाचन आयोगले प्रचलित कानुन बमोजिम उपनिर्वाचनको प्रक्रिया अगाडि बढाउन लागेको जानकारी दिइन् । मन्त्री गौतमले आगामी दिनमा राष्ट्रियसभा सदस्य पद रिक्त भए पश्चात् समयमै पदपूर्ति तथा निर्वाचन प्रक्रिया प्रारम्भ गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र संघीय संसदबीच प्रभावकारी समन्वय गरिने उल्लेख गरिन् ।