
काठमाडौँ | चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आइतबार चीन प्रस्थान गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय भ्रमण टोलीले पार्टी सभापति रवि लामिछानेसँग छलफल गर्ने भएको छ । शनिबार बिहान ९ बजे लामिछाने निवास बूढानीलकण्ठमा भ्रमण टोलीले छलफल गर्ने संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए ।
महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रास्वपाका २० सदस्यीय टोली १० दिने भ्रमणमा निस्कन लागेको हो । भ्रमण टोलीले शुक्रबार संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेको थियो । छलफलका क्रममा प्रधानमन्त्री शाहले भ्रमणलाई पर्यटकीय गतिविधिमा मात्र सीमित नराखी उपलब्धिमूलक बनाउन निर्देशन दिएका थिए । भ्रमणका क्रममा आपसी अनुभव आदानप्रदानका साथै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायत बहुआयामिक विषयमा छलफल हुने पराजुलीले जानकारी दिए ।
भ्रमण टोलीमा महामन्त्री आचार्यसहित गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा छन् ।