
काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज एकमात्र खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लायन्स र विराटनगर किंग्स आमनेसामने हुँदैछन् । अंक तालिकाको दोस्रो स्थानमा रहेको लुम्बिनी आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने लक्ष्यसहित मैदानमा उत्रनेछ । प्लेअफमा स्थान पक्का गरिसकेको लुम्बिनीले अहिलेसम्म ६ खेल खेलेकोमा चारमा जित र एकमा हार बेहोरेको छ । वर्षाका कारण एक खेल रद्द भएपछि लुम्बिनीले चितवन राइनोजसँग अंक बाँडेको थियो ।
लुम्बिनीले कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो । यस्तै, काठमाडौँ गोर्खाजसँग भने पराजित भएको थियो । अंक तालिकाको पाँचौँ स्थानमा रहेको विराटनगरका लागि पनि आजको खेल उत्तिकै महत्त्वपूर्ण छ । प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउन विराटनगर जितको खोजीमा हुनेछ ।
विराटनगरले हालसम्म ६ खेल खेलेकोमा तीनमा जित र तीनमा हार बेहोरेको छ । उसले पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो भने काठमाडौँ गोर्खाज, चितवन राइनोज र कर्णाली याक्ससँग हार बेहोरेको थियो ।