
काठमाडौँ | नेकपा (एमाले) का सचिव महेश बस्नेतले आफ्नो पार्टी नेतृत्वको सरकारले गरेको विकास निर्माण र समृद्धिको कामलाई प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित आफूलाई वैकल्पिक शक्ति दाबी गर्नेहरूले चुनौती दिन नसक्ने बताएका छन्। च्यासलमा शनिबार आयोजित पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले नेपालको विकास र समृद्धिमा एमालेको योगदान ऐतिहासिक रहेको दाबी गरेका हुन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारको नीति तथा अवधारणाअनुसार ३ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुनुका साथै मुलुक लोडसेडिङमुक्त भएको बस्नेतले स्मरण गराए। उक्त सफलताको जस नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सम्बन्धित सबैलाई जाने भए पनि यसको मुख्य श्रेय ओली सरकारको नीतिगत नेतृत्वलाई नै जाने उनको भनाइ थियो। एमालेले ३५ वर्ष शासन गरेको भन्ने प्रचारलाई भ्रामक बताउँदै उनले वि.सं. २०५२ मा मनमोहन अधिकारी नेतृत्वको सरकार गठन भएदेखि २०७९ सम्म एमालेले अवसर पाएका विभिन्न कार्यकाल नेपालको विकासका लागि ‘स्वर्णिम काल’ रहेको जिकिर गरे। पार्टीले नौ महिनामा केही गरेन भन्ने आरोपको प्रतिवाद गर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्नुपर्नेमा उनले जोड दिए।
वर्तमान सरकारको नौ महिनाको कार्यकालको समीक्षा गर्दै सचिव बस्नेतले सरकार कुशासन, भ्रष्टाचार, अनियमितता र महँगी बढाउनेतर्फ लागेको आरोप लगाए। खाना पकाउने ग्यासको मूल्यवृद्धि तथा युवाहरूलाई दिइएका आश्वासन पूरा नहुँदा जनतामा व्यापक निराशा र आक्रोश बढेको टिप्पणी गर्दै उनले वर्तमान सरकारको कार्यशैली अधिनायकवाद, निरङ्कुशता र प्रतिशोधतर्फ उन्मुख भएको टिप्पणी गरे। आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै एमालेले दुईवटा रणनीतिका साथ अघि बढ्ने उनले स्पष्ट पारे। विगतमा पार्टीले गरेका विकास निर्माणका काम र एजेन्डा लिएर जनतामाझ जाने तथा दुवै निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने पहिलो रणनीति रहेको उनले बताए।
त्यस्तै, सरकारका जनहितविरोधी कदमविरुद्ध विचार मिल्ने दलहरूसँग चुनावी कार्यगत एकता र सडकमा संयुक्त सङ्घर्ष गर्ने दोस्रो रणनीति तय गरिएको उनले जानकारी दिए। पार्टीको आगामी रणनीतिलाई सशक्त बनाउन आधारभूत तहका कमिटीहरू सुदृढ बनाइँदै लगिएको चर्चा गर्दै उनले आगामी कात्तिक २६ गते वडा र मङ्सिर ४ गते पालिका अधिवेशन तोकिएको बताए। गुटबन्दी अन्त्य गरी सहमतिमा नेतृत्व चयन गर्न जोड दिँदै बस्नेतले भने, ‘अधिवेशनहरू सकेसम्म सर्वसम्मत रूपमा सम्पन्न गरौँ, सहमति हुन नसके लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरौँ। नेताहरूले व्यक्तिगत गुट बनाउने प्रवृत्तिलाई निरुत्साहित गर्दै पार्टीको साङ्गठनिक एकता र सुदृढीकरणलाई नै आगामी यात्राको मुख्य आधार बनाउनुपर्छ।’ उनले अधिवेशनलाई मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन पालिका इन्चार्जहरूलाई सक्रिय भूमिका खेल्न आग्रहसमेत गरे।